Logo

कोरोना संक्रमित भई मृत्यु भएकाको शव व्यवस्थापनमा अवरोधपछि झडप, प्रहरीद्वारा हवाइ फायर



पोखरा, ११ असार । पोखरामा उपचारका क्रममा मृत्यु भएका स्याङ्जाका ५५ वर्षीय पुरुषको शव व्यवस्थापनमा अवरोध भएपछि झडप भएको छ । उनको शवलाई पोखरा महानगरपालिको मजुवा घाटमा व्यवस्थापनका लागि लैजाँदा अवरोध भएको हो । त्यस क्रममा प्रहरीले पाँच राउण्ड हवाई फायर समेत गरेको राससका पत्रकार सन्दीप पौडेलले जानकारी दिएका छन् ।

पौडेलका अनुसार मजुवामा शव व्यवस्थापनका क्रममा झडप भएको छ । उनले फेसबुकमार्फत घटनाबारे जानकारी दिदै झडपबारे जानकारी दिएका हुन् ।

कोरोना संक्रमितको मृत्यु भएमा नेपाली सेनाले शव व्यवस्थापन गर्दै आएको छ । पोखरा महानगरपालिकाले मजुवा घाट शव व्यवस्थापनका लागि तय गरेपछि त्यतै लैजाने क्रममा स्थानीयले अवरोध गरेका थिए । उनीहरुले टायर बालेर विरोध गरेका थिए । प्रहरीले अवरोध गर्नेलाई पन्छाउन खोज्दा झडप भएको हो ।

यसैगरी बुधबार साँझ कोरोना संक्रमणबाट मृत्यु भएका किराना तथा खाजाको पसल गर्ने स्थानीय व्यापारी रहेको खुलेको छ । मृत्यु भएका पुरुष किरानासहितको व्यापार गर्ने र पुतलीबजारबाट सामग्री लिने गरेको तथा छ महिनाबाट घरबाहिर व्यापारबाहेक अन्य कामको लागि ननिस्केको परिवारले जनाएको छ ।

कुनै ट्राभल हिस्ट्री नभई अर्जुन चौपारी गाउँपालिका –४ राम्चेका एक पुरुषको कोरोना भाइरसका कारण बिहीबार पोखरा क्षेत्रीय अस्पतालमा उपचारको क्रममा निधन भएको हो । मृतकले आँधीखोला गाउँपालिका९१, पञ्चमुलमा किराना र खाजाको पसल गर्दैआएका थिए ।

मृतकलाई ज्वरो आएपछि असार ७ गते फेवा सिटीमा अस्पताल पोखरा लगिएकोमा कोरोनाको शङ्कामा उपचार गर्न नमानेपछि गण्डकी क्षेत्रीय अस्पतालमा लगिएको थियो । गण्डकी अस्पतालमा उनको स्वाब परीक्षण गर्दा पोजिटिभ देखिएपछि भेन्टिलेटरमा राखेर असार ८ गतेबाट उपचार गरिएको थियो । मधुमेह र उच्च रक्तचापका बिरामी रहेका पुरुष कोरोनाको सङक्रमण देखिएपछि आमा रहेको घरमा असार ३ गते मात्र बाबुको श्राद्धमा पुगेका थिए ।

मृत्यु भएका पुरुषको सम्पर्कमा रहेका आँधीखोला र अर्जुन चौपारीका ३५ जनाको सूची तयार भएको र शुक्रबार स्वाब लिएर परीक्षण गरिने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्