काठमाडौं, ११ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले हिजो (बुधबार) बसेको स्थायी कमिटी बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच एक–आपसमा कटाक्ष, आरोपप्रत्यारोप भयो भन्ने कुरामा सत्यता नभएको दाबी गरेका छन् ।
उनले पार्टीभित्र कटाक्षभन्दा पनि अहिलेको राष्ट्रिय, अन्तर्राष्ट्रिय राजनीतिक समसामयिक परिस्थितिको बारेमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले आ–आफ्नो धारणा राखेको जनाए । पत्रकार ऋषि धमलासँगको कुराकानीमा रायमाझीले यस्तो बताएका हुन् । धमलाले प्रधानमन्त्रीले पार्टीभित्रैबाट अनावश्यक गुट खडा गरेर घेराबन्दी गर्ने काम भयो भन्नुभएको छ नि ? भनेर सोधेको प्रश्नमा रायमाझीले त्यो बढाईचढाई कुरा भएको प्रतिक्रिया दिए ।
उनले भने-‘त्यसरी बढाइचढाई कुरा गर्नेहुँदैन । सरकारले जति काम गरेको छ । यद्यपि सबै राम्रा नहुन सक्छन् । तर, जति राम्रो काम भएका छन् । त्यसप्रति जति पार्टी, नेता, कार्यकर्ताहरुबाट समर्थन हुन्छ त्यो अलि कम भयो कि भनेर वाच गर्ने कुरा थियो । त्यसलाई हामीले अन्यथा ठान्नुहुँदैन । कमीकमजोरी भएको पनि हुन सक्छ ।’
एमसीसीका विषयमा पार्टीभित्र, बाहिर र जनस्तरमा पनि व्यापक रुपमा छलफल भएको सुनाउँदै उनले आगामी दिनमा त्यस सम्बन्धमा पनि पार्टीभित्र छलफल गरेर अघि बढ्ने सुनाए । रायमाझीले थपे-‘विवाद गरिरहने कुरा छैन । अब त्यसलाई राष्ट्र, राष्ट्रियता र अखण्डतालाई केन्द्रमा राखेर गम्भीर रुपमा छलफल गरेर निष्कर्ष निस्कन्छ ।’
प्रधानमन्त्रीको विकल्प खोज्ने बेला पार्टीभित्र भएको छैन ? भनेर धमलाले सोधेको प्रश्नमा रायमाझीले उक्त विषयमा आफ्नो व्यक्तिगत विचारको अर्थ नहुने जिकिर गरे । उनले यसरी जवाफ दिए-‘यसमा पनि मेरो व्यक्तिगत विचारको अर्थ छैन । हामी हर विषयलाई पार्टीभित्र छलफल गछौं । त्यहाँ पार्टीको, सरकारको, कोरोनाको सबैमा व्यपाक छलफल हुन्छन् । हाम्रो अन्य विभिन्न योजनाहरु छन् ।’ File Photo/ReportersNepal