काठमाडौं, ११ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र एमसीसीलाई लिएर पक्ष र विपक्षमा मत बाझिएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली एमसीसी संसदको यही अधिवेशनमा पारित गराउनेगरि अन्तिम गृहकार्यमा जुटिरहेका छन् । यही सेरोफेरोमा पार्टीको स्थायी कमिटी बैठकसमेत सुरु भएको छ । स्थायी कमिटीमा ओली स्पष्ट रुपमा अल्पमतमा छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधव कुमार नेपाल समूहको बुहमत छ । सुरुदेखि नै दाहाल-नेपाल समूहले एमसीसी संशोधन नगरी पारित गर्न नहुने अडान राख्दै आएका छन् ।
बरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको तीन सदस्यीय कार्यदलले बुझाएको प्रतिवेदनमा पनि सोही कुरा उल्लेख गरिएको छ। तर, प्रधानमन्त्री ओली भने कुनैपनि हालतमा एमसीसी तुहाउने पक्षमा छैनन् । उनी जसरी भएपनि संसदको यही अधिवेशनमा एमसीसी पारित गराउनेगरि गहृकार्यमा जुटेका छन् । हिजो (बुधबार) बाट सुरु भएको स्थायी कमिटी बैठक भोलि पूनः बस्दैछ । बैठकको एजेण्डामा एमसीसीपनि छ । यसको अलावा दाहाल-नेपाल समूहको मागबमोजिम सरकारको कामको समिक्षा पनि हुँदैछ ।
ओलीले बुधबारको बैठकमा पहिलाझैं सरकारले संकटको घडीमा पनि धेरै राम्रा काम गरेको फेहरिस्त सुनाएका थिए । दाहाल र नेता नेपालले भने सरकारको काम प्रभावकारी नभएको भन्दै ओलीकै सामू आलोचना गरे । नेकपाभित्र विवादको विषय बनेको एमसीसीको सम्बन्धमा पनि भोलिको बैठकमा छलफल हुँदैछ । दाहाल-नेपाल समूह एमसीसी जस्ताको त्यस्तै पारित गर्न नहुने अडानमा छन् । तर, ओली भने स्थायी कमिटी बैठकमै एमसीसीको पक्षमा बहुमत पुर्याउनेगरि आन्तरिक छलफलमा जुटेको स्रोतको दाबी छ । यसको लागि उनले दाहाल-नेपाल समूहका केही नेताहरुसँग आज एक्लाएक्लै भेटवार्तासमेत गर्न लागेका छन् ।
नेकपामा ओलीलाई गलाउने र आत्मालोचना गराउने रणनीति, दाहाल-नेपाल एक ठाउँमा
उता, दाहाल र नेपाल पनि आफ्नो समूहका नेताहरुसँग परामर्शमा जुटेका छन् । ओलीले स्थायी कमिटीमै एमसीसीको पक्षमा बहुमत पुर्याउनेगरि गृहकार्य गरेको सुईंको पाएपछि दाहाल र नेपालले पनि आफ्ना समूहका नेताहरुलाई निवासमा बोलाएर छलफल गरेका छन् । स्थायी कमिटीमा अल्पमतमा हुँदाहुँदैपनि ओलीले एमसीसीको पक्षमा बहुमत पुर्याउन खोज्नु भनेको उनले दाहाल र नेपाल समूहका नेताहरु आफूतिर आउने विश्वास राखेको ओलीनकट एक नेताले रिपोर्टर्स नेपाल डटकमलाई जनाए । स्थायी कमिटीको बैठक भोलि विहान ११ बजेबाट सुरु हुनेछ ।