Logo

ओली-प्रचण्ड द्वन्द्व निर्णायक मोडमा, कस्ले मार्ला बाजी ?



काठमाडौं, ११ असार । नेपाल कम्युनिस्ट पार्टीभित्र अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको द्वन्द्व निर्णायक मोडमा पुगेको छ । १० असारमा बसेको स्थायी कमिटि बैठकमै दुई अध्यक्षले एक अर्काविरुद्ध कटाक्ष गरेका थिए । यो कटाक्ष अघिल्लो दिन प्रचण्डले बालुवाटारमा ओलीलाई सरकारबाट ब्याक हुन भनेपछि भएको हो । उनले स्थायी कमिटि बैठकमा सम्बोधनका क्रममा ‘बेसारको नाममा राजीनामा दिने ?’ भनी व्यङ्ग्य गरेका थिए ।

दुवै अध्यक्ष एकले अर्कोको रणनीति असफल बनाउन लागेका छन् । एमसीसीको विषय संसदबाट पारित गर्न ओली लागेका छन् भने प्रचण्ड विफल बनाउन सक्रिय छन् । नाम एमसीसी भएपछि उद्देश्य सरकार ढाल्ने रहेको देखिदैछ । एमसीसी विफल बनाएर ओलीलाई कमजोर देखाउने र राजीनामाका लागि वाध्य बनाउने प्रचण्डको रणनीति खुल्दै गएको छ । उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै त्यसको संकेत गरेका छन् । त्यसमाथि आलोपालो प्रधानमन्त्री बन्ने सहमतिबाट पछि हट्नुले गल्ती भएको महशुश गरेको समेत स्थायी कमिटि बैठकमा बोले ।

नेकपाभित्र सचिवालय, स्थायी कमिटि र केन्द्रीय कमिटि सबैतिर ओली अल्पमतमा छन् । उनले पूर्व एमालेलाई एकजुट बनाउन जान सकेमात्र बहुमत हुनसक्ट । तर, माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतम जस्ता हस्तीहरु उनको विपक्षमा उभिएका छन् । यसले ओलीलाई निकै कठिन बनाएको छ ।

एमसीसी पारित हुन नदिने ओलीइतरको समुहको रणनीतिपछि संसदीय दलमा बहुमत भएकाले त्यसैलाई प्रयोग गर्ने तयारी नगरेका होइनन् । तर, पार्टी निर्णय नाघेर संसदीय दलमार्फत् बढ्न खोजे नेकपाभित्र दुर्घटनाको खतरा छ । त्यसैले यो घटनाक्रमलाई नेकपाभित्र ओली र प्रचण्डको निर्णायक द्वन्द्व मानिएको छ ।

प्रचण्डले ओलीलाई कमजोर बनाउन पूर्व एमालेका हस्तीहरुकै साथ लिएका छन् । बरु पूर्व माओवादीबाट उनी पक्षधरहरु विस्तारै टाढिएर ओलीसम्म पुगेका छन् । जसमध्ये आपूर्तिमन्त्री लेखराज भट्ट, स्थायी समिति सदस्यहरु टोपबहादुर रायमाझी र दिनानाथ शर्माहरु छन् । सचिवालय सदस्य रामबहादुर थापा बादलको आफ्नै लाइन छ । यसरी प्रचण्डले ओलीविरुद्धको रणनीति तयार गर्न माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतम समेतको साथ लिनुपरेको छ । यसपटक यी नेता यताउता नभए ओलीलाई मुश्किल पर्न सक्छ ।

१२ असारबाट पुनः अगाडि बढ्ने स्थायी कमिटि बैठकले वार कि पार गर्ने निश्चित नै छ । यसपटकको बैठकले एमसीसीको मात्र टुंगो नलगाई ओली सरकारको भविष्यको पनि टुंगो लगाउन सक्छ । यसलाई रोक्न ओलीले कुन अस्त्र फाल्नेछन् त्यो पक्कै देखिनेछ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot