Logo

दूूरगामी प्रभाव पार्ने निर्णय लिने विश्वास



काठमाडौं, असार १२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको जारी बैठकले सरकारलाई काम गर्न सजिलो बनाउँदै मुलुकका लागि ठोस एवं दूरगामी निर्णय लिने अपेक्षा गरिएको छ ।

स्थायी कमिटी बैठकको मुख्य कार्यसूचीमै अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी), सीमा विवाद, नागरिकता विधेयक, कोरोना भाइरस रहेकाले बैठकले लिने निर्णय दूरगामी र महत्वपूर्ण हुने अनुमान राजनीतिक वृत्तमा गरिएको छ । बैठकपछि सरकारलाई काम गर्न अझ सजिलो हुुने विश्वास पनि गरिएको छ ।

स्थायी कमिटी बैठकमा प्रस्तुत कार्यसूची कसरी अगाडि बढाउने भन्ने विषयमा बिहीबार प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ ।

शुक्रबार बस्ने स्थायी कमिटी बैठकमा प्रस्तुत हुने विषयवस्तुबारे दुई अध्यक्षबीच छलफल भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ । नेकपामा सबैभन्दा विवादित भनिएको विषय एमसीसी रहेको विश्लेषण गरिएको छ । स्थायी कमिटीमा यी विषयमा सर्वसम्मत निर्णय गर्न सके बैठकलाई ऐतिहासिक मान्न सकिने राजनीतिक विश्लेषक हरि रोक्काले बताए ।

यसअघि पार्टीका केन्द्रीय समिति र स्थायी कमिटी बैठक बसे पनि महत्वपूर्ण निर्णय हुन नसकेकाले यस पटकको बैठकबाट ठोस निर्णय आउने रोक्काको ठम्याइ छ । पार्टीले सावधानीपूर्वक निर्णय लिनुपर्ने सुझाव दिँदै उनले आफ्ना दुई छिमेकी राष्ट्रलाई चिढ्याउने गरी कुनै निर्णय लिन नहुने बताए।

अधिवक्ता टीकाराम भट्टराईले जहिले पनि पार्टी र सरकार बीचको अन्तरसम्बन्धलाई लिएर पार्टीभित्र विवाद देखिएको हुनाले यसबारे एउटा निर्देशिका नै बनाउनुपर्ने सुझाव दिए । दुवै अध्यक्षले एकअर्कालाई सहयोग गर्ने वातावरण बन्नुपर्ने र सरकारलाई काम गर्न सहज वातावरण बनाइनुपर्ने उनको भनाइ रहेको आजको गोराखपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्