Logo

अब झाडापखालाविरुद्ध बालबालिकालाई ‘रोटा खोप’



काठमाडौं, असार १२। नेपालमा पहिलोपटक झाडापखालाविरुद्धको ‘रोटा खोप’ सुरु गरिने भएको छ । बच्चा जन्मेको ६ सातामा पहिलो मात्रा र १० सातामा दोस्रो मात्रा दिइने गरी यही असारदेखि नै सो खोप दिन लागिएको हो ।

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाअन्तर्गत बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा झलक शर्मा गौतमका अनुसार नियमित खोप अभियानअन्तर्गत रोटा खोप दिइनेछ ।

खोप शाखा प्रमुख डा। गौतमले भने, ‘यो खोप बच्चाहरूलाई मुखबाट दिइन्छ । खोपहरू केन्द्रीय स्टोरबाट प्रदेशमा पठाइसकिएको छ । प्रदेशले जिल्लामा पठाउँछ । केही दिनमै खोप दिइने तयारी छ ।’

चिकित्सकका अनुसार पाँच वर्षमुनिका बालबालिकामा देखिने झाडापखालाको प्रमुख कारणमध्ये रोटा भाइरस एक हो । देशभरका पाँच वर्षमुनिका सम्पूर्ण बालबालिकालाई खोपको पहुँचमा ल्याउन र नयाँ रोगविरुद्धको खोप उपलब्ध गराउने उद्देश्यले सरकारले रोटा भाइरसविरुद्धको खोपलाई नियमित अभियानअन्तर्गत अघि सारेको थियो ।

नियमित रूपमा ११ वटा रोगविरुद्ध निःशुल्क खोप दिइँदै आएकामा अब रोटा भाइरसबाट हुने पखालाविरुद्धको खोप थप गरिएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्