Logo

ताली र गालीको केन्द्रमा ओली



काठमाडौं, असार १२ । प्रधानमन्त्री केपी शर्मा ओली नेकपाको जारी स्थायी समिति बैठकमा गाली र तालीको केन्द्रबिन्दुमा छन्। पार्टीभित्र रहेको त्रिपक्षीय शक्ति सन्तुलन द्विपक्षीय देखिन थालेपछि यो बैठकमा अध्यक्ष ओली आलोचनाको मुख्य निसानामा पर्ने देखिएका हुन्।

अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूह ओलीको पार्टी र सरकार सञ्चालन कार्यशैलीसँग सहमत छैनन्। दाहाल र नेपाल पक्षका नेताले आलोचना गर्ने संकेत बुधबार पहिलो दिनको बैठकमै देखिएको थियो। उनीहरूले एमसीसी सम्झौताका साथै कार्यकारी अधिकार दाहाललाई प्रयोग गर्न नदिइएको, सरकारलाई एकलौटी चलाउन खोजेको, पार्टीलाई बन्धक बनाएको आरोप लगाइसकेका छन्।

दाहालले बुधबार सम्बोधन र नेपालले ओलीले सम्बोधन गरिरहँदा प्रतिवाद गरेका थिए। यसका अतिरिक्त विधि, पद्धतिअनुसार पार्टी चलाउनुपर्ने, एक व्यक्ति एक मुख्य जिम्मेवारी हुनुपर्ने आवाज पनि नेपाल समूहका नेताले उठाउने रणनीति बनाएको देखिन्छ। आफ्ना एजेन्डामा नेपाल पक्षले दाहालको साथ खोजेको आजको अन्नपूर्ण पोस्ट् दैनिकले खवर छापेको छ ।



प्रतिक्रिया दिनुहोस्