काठमाडौं, १२ असार। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक जारी छ । आजको बैठकमा सिमा विवादसम्बन्धी छलफल भैरहेको छ । आजको बैठकमा स्थायी कमिटी सदस्यहरु प्रदीप कुमार ज्ञवाली, घनश्याम भुषाल, पम्फा भुषाल, रघुवीर महासेठ, लिलामणि पोखरेल, अमृत बोहोरा र वेदुराम भुषालले बोलेका छन् । बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यका अनुसार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतसँगको सिमा विवाद समाधानको लागि तीन पटक पत्र पठाएको तर भारतले अहिलेसम्म वार्ता तथा छलफलको लागि कुनै चासो नदेखाएको सुनाएका थिए ।
प्रधानमन्त्री ओलीबिनै नेकपा स्थायी कमिटी बैठक जारी
यही असार १० गतेदेखि शुरु भएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको आजको बैठक शुरु भएको छ । पहिलो दिनको बैठकमा अध्यक्षद्वयको मन्तव्य र कार्यसूची तय गरी आज बस्ने गरी सकिएको थियो । जारी बैठकमा पहिलो दिन वर्तमान परिस्थिति र बैठकका सम्बन्धमा अध्यक्षद्वय ओली र दाहालले मन्तव्य राखेका थिए ।
बैठकमा कोभिड–१९ को नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान, सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र साङ्गठानिक एकताका बाँकी कामहरू सम्पन्न गर्ने, अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) र विविध कार्यसूचीमा छलफल हुने छ । कार्यसूचीको विविधमा रुकुमपश्चिमा गत जेठ १० मा भएको मानवताविरोधी घटना, नागरिकतासम्बन्धी विधेयक, सङ्घीय सांसदहरुको भत्ताका विषय राखिएको छ । File Photo/ReportersNepal