Logo

नेकपा स्थायी कमिटी बैठक : आज १८ जनाले बोले, (सिमा विवादबारे छलफल) बैठक भोलि ११ बजे पूनः बस्ने



काठमाडौं, १२ असार । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बुधबारदेखि जारी स्थायी कमिटी बैठक आजलाई सम्पन्न भएको छ । बैठक भोलि पनि बस्दैछ । आजको बैठकमा १८ जना सदस्यहरुले बोलेका थिए । आजको बैठकमा सिमा विवादको सम्बन्धमा छलफल भएको थियो । त्यस क्रममा परराष्टमन्त्री प्रदीप कुमार ज्ञवालीले भारतले वार्ताको लागि राम्रो रेस्पोन्स नगरेको भनाई राखेका थिए ।

आज बोल्ने सदस्यहरुले नेपालको सीमा समस्या र समाधानका बारेमा आफ्नो धारणा राखेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले फेशबुकमार्फत जानकारी गराएका छन् । उनकाअनुसार बैठकको शुरूमा परराष्ट्रमन्त्री ज्ञवालीले कालापानी, लिपुलेक र लिम्पियाधुराको अतिक्रमित भूमि फिर्ता गर्न सरकारले पहल गरिरहेको, तर भारतले वार्ताको सकारात्मक तत्परता नदेखाइरहेको जानकारी गराएका थिए । ज्ञवालीले कूटनीतिक पहलद्वारा नै समस्याको समाधान गरिने उल्लेख गरेको थापाले जनाएका छन् ।

त्यस्तै, ज्ञवालीले चीनद्वारा नेपाली भूमि अतिक्रमण भएको भन्ने झूठो, नियोजित र भ्रामक प्रचारमा कुनै सत्यता नभएको र चीनसँग सीमाको सम्बन्धमा कुनै समस्या नरहेको पनि बैठकमा स्पष्ट पारेका थिए । आजको बैठकमा लीलामणि पोखरेल, मातृका यादव, देव गुरूङ, गोकर्ण विष्ट, शंकर पोखरेल, पम्फा भुसाल, छविलाल विश्वकर्मा, बेदुराम भुसाल, रघुवीर महासेठ, अमृतकुमार बोहरा, डा. भीम रावल, अष्टलक्ष्मी शाक्य, भीम आचार्य, केशव बडाल, गणेश साह, मुकुन्द न्यौपाने र नारयणकाजी श्रेष्ठले बोलेका थिए ।

बैठकमा महासचिव विष्णुप्रसाद पौडेलले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली कार्यव्यस्तताका कारण आजको बैठकमा आफू उपस्थित नहुने र बैठक सुचारू रूपमा संचालन गर्न भनेको कुरापनि जानकारी गराएका थिए । स्थायी कमिटीको अर्को बैठक भोलि ११ बजे बस्नेछ । तस्विर : प्रधानमन्त्रीको सचिवालय



प्रतिक्रिया दिनुहोस्