Logo

प्रचण्ड, माधव नेपाल र बामदेवसँग राजनीतिक लेनदेनको प्रयास विफल भएपछि ओलीको अन्तिम अस्त्र के होला



काठमाडौं, १३ असार । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली अहिले चौतर्फी चुनौतीको सामना गरिरहेका छन् । सत्तामाथि नै थपिएको संकटले उनी विस्तारै रक्षात्मक अवस्थामा पुगेका छन् ।

पार्टीभित्र अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को टुंगो लगाउन भनेर डाकिएको स्थायी कमिटि बैठक विषयान्तर हुनथालेको छ । उनी बैठक आरम्भ भएको १० असारमा सम्बोधनका क्रममा सहभागी भएपनि हिजो अनुपस्थित रहे । यसबाट उनले पार्टी कमिटिलाई बेवास्ता गरेको सन्देश गएको छ ।

पार्टी स्थायी कमिटिमा सरकारको समिक्षा हुनथालेपछि ओलीले नियत बुझिसकेका छन् । बैठक अगावै बालुवाटारमा अध्यक्ष प्रचण्डले उनलाई सरकारबाट फिर्ता हुन भनिसकेका थिए । यसकारण पनि उनले राजनीतिक अस्त्र तयार गरी आफूलाई हटाउने प्रयासलाई विफल बनाउन खोजेका छन् ।

उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाई उपप्रधानमन्त्री बनाउने प्रस्ताव ओलीले नगरेका होइनन् । तर, गौतम यसपटक सघाउन तयार भएनन् । उनले स्थायी कमिटि बैठक अगावै आफ्नो ओलीसँग अनगिन्ती असहमति भएको सार्वजनिक गरेका थिए । गौतमले पटक पटक धोका पाएको भन्दै ओलीको कुनैपनि प्रस्ताव नमान्ने अडान लिइसकेका छन् ।

गौतम टाढिएपछि ओलीले अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालमध्ये एकलाई मनाउने प्रयास गरेका छन् । उनले सकेसम्म प्रचण्डलाई नै सहमत गराउन खोजेका छन् । बालुवाटार भेटमा प्रचण्डलाई सरकार पुर्नगठन गरेर अगाडि बढ्ने र एकताको पहिलो महाधिवेशनपछि नेतृत्व हस्तान्तरणका लागि सहयोग गर्नेसम्मको प्रस्ताव ओलीले गरेका छन् । तर, त्यसमा प्रचण्ड सहमत भएनन् ।
विश्वस्त स्रोतका अनुसार प्रचण्डले अब जे जे सहमति हुन्छ पार्टी स्थायी कमिटिले अनुमोदन गरेर बढ्न्पर्ने बताएका छन् । विगतमा आलोपालो प्रधानमन्त्री बन्ने सहमति पनि आफूहरुबीच मात्र भएकाले यताउता हुने अवस्था बनेको भन्दै अबको जेसुकै सहमति पनि पार्टीबाट आधिकारिक रुपमा अनुमोदन हुने गरी मात्र गर्ने प्रचण्डको उत्तर आएको छ । प्रचण्डले पार्टी निर्णयबमोजिम अगाडि बढ्ने पद्धति विकास गर्न चाहेको भनेबाट ओली गम्भीर भएका छन् ।

अब स्थायी कमिटिले सरकारको समेत समिक्षा गरिरहेको छ । निष्कर्षमा सरकारको असफलता भनिएको खण्डमा सरकारबाट फिर्ता बोलाउने सम्मको निर्णय लिनसक्छ । ओली स्थायी कमिटिमा अल्पमतमा रहेकाले त्यस्तो निर्णय आएमा उनका सामु नयाँ चुनौती सृजना हुनसक्छ । जसलाई टार्न लागिपरेका छन् ।

ओलीले माधवकुमार नेपाललाई मनाउने प्रयास छाडेका छैनन् । त्यसका लागि महासचिव विष्णु पौडेलले सक्रियता देखाएका छन् । केही दिन अघि ललितपुरको एक घरमा माधव नेपाललाई विष्णु पौडेलले भेटेका थिए । उनी ओलीको सन्देश लिएर गएका थिए । माधव नेपाललाई पनि अध्यक्ष बनाउने र उनले रोजेका केही मानिसलाई मन्त्रिमण्डलमा ल्याएर राजनीतिक लेनदेनबारे कुराकानी भएको थियो । पूर्व एमालेबीचको एकतामा समेत जोड दिने गरी ओलीले गरेको प्रस्तावप्रति माधव नेपाल सहमत नभएको बुझिएको छ । उनी पनि सरकारको विकल्प खोज्नेतर्फ लागेका छन् । एमसीसीको विपक्षमा माधव नेपालका खास मान्छेहरु देखापरेका छन् ।

ओलीको राजनीतिक अस्त्रहरु अहिले एकपछि अर्को गरी सफल हुन सकेका छैनन् । पार्टीभित्र आफ्नो पक्षमा राजनीतिक सहमति बनाउन नसके अबको केही दिनमा सत्ता नै संकटमा पर्न सक्छ । यसलाई मध्यनजर गरी ओली पक्षधरहरुको सक्रियता बढेको छ । तर, प्रचण्ड, माधव नेपाल र बामदेवलाई मनाउने प्रयास सबै विफल भएकाले ओली नयाँ राजनीतिक अस्त्र लिएर प्रस्तुत हुनसक्ने सम्भावना छँदैछ ।

उनको अन्तिम अस्त्र संसदीय दलमा बहुमतबाट आफ्नो एजेन्डा अगाडि सार्ने हुनसक्छ । यसमा यताउता भएमा कोरोनाको बहानामा संकटकाल घोषणा देखि मध्यावधि चुनावको घोषणा समेत हुने नदेखिएको होइन । तर, यसले देशमा राजनीति दुर्घटनाको खतरा निम्त्याउने भएकाले ओली त्यो हदसम्म बढ्ने सम्भावना नहोला ।-File Photo: Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्

Screenshot