Logo

प्रचण्डले पाँच वर्षसम्म केपी ओली नै प्रधानमन्त्री हो भन्नुभएकै छ- रेणु दाहाल



काठमाडौं, १३ असार । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले नेकपा अध्यक्ष प्रचण्डले पाँच वर्षसम्म केपी शर्मा ओली नै प्रधानमन्त्री हुने बताएको स्मरण गराएकी छिन् । तर, पार्टीलाई संस्थागत र मजबुत बनाउन छलफल र बहसहरु हुने बताएकी छिन् । यसै सेरोफेरोमा मेयर रेणु दाहालसँग रेडियो एनआरएनका लागि ऋषि धमलाले गरेको कुराकानीः
भरतपुर महानगरपालिकामा जनताको काम भइरहेको छ ?
भरतपुर महानगरपालिकामा एकदम राम्रोसँग काम भइरहेको छ । हिजो मात्रै हामीले भरतपुर महानगरपालिकाको नगरसभा पनि सम्पन्न गर्यौं ।
विकास, समृद्धि र कोरोना रोकथामको लागि नगरसभाले के के निर्णय गर्यो ?
भरतपुर महानगरपालिकाको छैटौं नगरसभाले सबै क्षेत्रहरुलाई एकदमै समानुपातिक, सन्तुलित ढंगले आवश्यकता र प्राथमिकताका आधारमा नीति, कार्यक्रम र बजेट ल्याएका छौं । भब्य र सभ्य ढंगबाट हाम्रो नगरसभा सम्पन्न भएको छ । यतिबेला हामीले कृषि, शिक्षा र स्वास्थ्यलाई अलि बढी जोड दिन खोजिएको छ । साथै पूर्वाधारको क्षेत्रलाई पनि एउटै कार्यदिशामा लान खोजिएको छ । त्यसकारण अहिलेको नीति तथा कार्यक्रम समय परक र वस्तुनिष्ठ भएको अनुभूति गरेका छौं ।
तपार्ईंले नीति कार्यक्रम राम्रो छ भनिरहँदा कृषि प्रधान देशमा किसानहरुले मल पाएका छैनन् थाहा छैन ?
यीनै कुरालाई मध्यनजर गरेर कृषिका थुप्रै विषयवसतुहरु जस्तै मल, बिउ अनुदानका कार्यक्रमहरुलाई मध्यनजर गरिएको छ । अहिले कोरोनाका कारण विदेशबाट आउने थुप्रै युवाहरु स्वदेश फर्किने क्रम बढेको छ । त्यसलाई मध्यनजर गरेर यति बेला कृषिको क्षत्रलाई अलि प्राथमिकतामा राखेर कृषि अनुदानका कार्यक्रमलाई अगाडि ल्याएका छौं ।
भरतपुर महानगरपालिकामा कोरोनामा रोकथामको लागि के के गर्नुभयो ?
अहिले तिनै क्षेत्रको सरकार त्यसैले सुतेर बसेको छैन । एकदम रातदिनै जाग्रम भएर जनताको पक्षमा, अहिले फैलिएको कोरोना महामारीको विरुद्ध भरतपुर महानगरपालिकाका सबै जनप्रतिनिधिहरु एक जुट भएर लागिपरेका छन् । जनताको पक्षमा अहोरात्र खटिराखेका छौं । खास गरी कोरोना महामारीविरुद्ध त्यसलाई रोकथामका लागि कोरोना अस्पताल, कोरोना परीक्षण, क्वारेन्टाइनको व्यवस्थापन गर्ने । विदेशबाट आउनेहरुलाई यहाँसम्म ल्याएर उहाँहरुलाई व्यवस्थित ढंगले क्वारेन्टाइनमा राख्ने, परीक्षण गर्ने गरेका छौं । यसरी हामीले यो महानगरपालिकामा कामहरु गरिराखेका छौं । खासगरी भरतपुर महानागरपालिकाले जनताको पक्षमा नेतृत्वदायी भूमिका निर्वाह गरेको छ । त्यसैले यहाँका जनतामा सरकारले काम गरेन भन्ने अनुभूति छैन ।
भरतपुरमा त कोरोना अस्पताल पनि काम नलाग्ने भएर थलापर्यो रे नि किन त्यस्तो भएको ?
त्यस्तो भएको छैन । कोरोना अस्पताल काम लाग्ने भएरै स्थापना गरिएको थियो । त्यसले थुप्रै सेवाहरु दियो । कोरोना आशंकित विरामीलाई त्यहाँ ल्याएर राख्ने, उपचार गर्ने र परीक्षण गर्ने कामहरु त्यहीँ ठाउँबाट सुचारु भएको थियो । अहिले पनि चलिरहेको थियो । तर, बाथरुमबाट पानी लिकेजको समस्या भएको छ । १० वटा रुममध्ये एउटामा पानी लिकेजको समस्या भयो । नुहाउने ठाउँमा पनि लिकेज भएको छ । अहिले प्राविधिक समस्या भएकाले त्यसलाई मर्मत गर्ने काम भइराखेको छ । हामीले कोरोना अस्पताल भरतपुर महानगरपालिकामा आवश्यक छ भनेर हामीले महत्वका साथ अगाडि बढाएका थियौं ।
कसरी महत्वका साथ अगाडि बढाउनुभयो अस्पतालै काम नगर्ने भएको छ ?
देशै भरीमा पहिलो कोरोनाको अस्थायी अस्पताल भरतपुरमा स्थापना गरेको हो । त्यसपछि देशका अन्य ठाउँहरुमा कोरोनाका अस्थायी अस्पतालहरु स्थापना गरिएको हो । यहाँ प्राविधिक रुपमा समस्या देखिए पनि देशका अन्य ठाउँ जहाँ कोरोनाको अस्थायी अस्पतालहरु छन् ती निरन्तर सुचारु छन् । तर, विरोधका लागि विरोध गर्ने प्रवृत्तिले गर्दा केही नकारात्मक समाचारहरु बाहिर आएका छन् । हाम्रोमा फेरि अलिकति राम्रो गर्न थाल्यो भने खुट्टा तान्ने प्रवृत्ति पनि छ । अहिले समाजमा नकारात्मक सोच भएका मान्छेहरुबाट कोरोना अस्पतालका बारेमा अनावश्यक टिकाटिप्पणीहरु भइराखेका छन् । नभए हामी देशैभरीमा पहिलो कोरोना अस्पताल यहाँ स्थापना गरेका थियौं । त्यसले सेवा पनि राम्रै दिएको थियो । त्यसैको नमुनाको रुपमा दशैभरि स्थापना गरिएका हुन् । अनि अहिले त्यसले सेवा दिएन, कामै नलाग्ने भयो भन्न सकिन्छ । त्यसलाई म कुनै पनि हालतमा मान्न तयार छैन ।
तपाईँ मान्न तयार हुनुहुन्न त्यसोभए चितवनमा कति जनालाई संक्रमण भयो, कति जनालाई निको भयो र अहिले के के भइराखेको छ ?
यहाँबाट कोरोनाका थुप्रै संक्रमितहरु निको भएर अस्पतालबाट डिस्चार्ज भएर गइसक्नुभएको छ । थुप्रैले अहिले पनि सेवा लिइरहनुभएको छ । कसैलाई पनि त्यस्तो भ्यान्टिलेरमा राख्नुपर्ने अवस्था देखिएन । भरतपुर महानगरपालिकावासी दुईजना दम्पतिमा श्रीमान् चाहीं क्यान्सर पीडित हुनुहुन्थ्यो । क्यान्सर पीडित पनि कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएर गइसक्नुभएको छ । जो फोक्सोको क्यान्सरपीडित हुनुहुन्थ्यो । यहाँ भएका कोरोना पीडितहरुको कुनै क्रिटिकल अवस्था छैन । निको भएर जाने क्रम बढिरहेको छ ।
होइन, क्वारेन्टाइनमा त एकदमै समस्या छ, खान पाउँदैनन, खानेपानी, सौचायको पनि समस्या छ किन यस्तो भइरहेको ?
देशका कतिपय ठाउँमा साधन, स्रोधको अभावले समस्या छन् होला । तर, म भरतपुरको उदाहरण दिन्छु । भरतपुर महानगरपालिकामा अहिलेसम्म ३१ वटा क्वारेन्टाइनहरु छन् । ती ठाउँमा भारतलगयत अरु देशबाट आउनेहरुलाई व्यवस्थापन गरेका छौं । यहाँ कुनै खालको अभाव र गुनासाहरु छैनन् । भनेजस्तो व्यवस्था नहोला तर साधन, स्रोतको बावजुद पनि हामीले सकेसम्म व्यवस्थित गरेका छौं । सिंगो महानगरपालिकाको २९ वटै वडामा एउटै ढाँचा र गुणस्तरको व्यवस्थापन गरेका छौं । हाम्रा महानगरवासी दाजुभाइ, दिदीबहिनीहरुको अभाव छ भनेर कुनैखालको गुनासो छैन । यहाँ एकदमै मितव्ययिता अपनाएर कसैबाट पनि गुनासाहरु नलाउने गरी व्यवस्थापन गरेका छौं ।
त्यसोभए भरतपुर महानगरपालिकामा कुनै समस्या छैन ?
भरतपुर महानगरपालिकामा एकदमै समस्या भयो भन्ने खालको टिकाटिप्पणी र गुनासोहरु आएको छैन । यहाँ हामीले एकदमै पारदर्शी ढंगबाट मितव्ययिता अपनाएर क्वारेन्टाइनहरुको व्यवस्थापन गरेका छौं । त्यसकारणले हामीलाई गर्व छ ।
त्यहाँ त एकदमै भ्रष्टाचार भएको छ रे ! विकास, निर्माणका कामहरु भएका छैनन् रे त्यो सही हो ?
हामीले यहाँका शिक्षा, स्वास्थ्य, कृषि र भौतिक पूर्वाधारमा एकदमै दत्तचित्त भएर काम गरेका छौं । अहिलेको नगरसभामा पनि कृषिलाई बढी प्राथमिकतामा राखेका छौं । समग्र महानगरपालिकाको बजेट ४ अर्ब १५ करोडमा १४ प्रतिशत बजेट कृषि र पशु विकास क्षेत्रमा बिनियोजन गरेका छौं । अहिले विदेशबाट आउनेलाई बेरोजगारीको समस्या छ । त्यसलाई लक्षित गरेर कृषि क्षेत्रमा २ प्रतिशत ब्याज अनुदान दिने योजना ल्याएका छौं । सुन्य ब्याजदरमा ५ लाखसम्म ऋण उपलब्ध गराउने योजना विदेशबाट आउनेलाई छुट्ट्याएका छौं । बिउविजन र पशुसेवामा अनुदानका कुराहरु ल्याइएको छ । कृषि क्षेत्रलाई यान्त्रिकीकरण गर्ने भनेर प्राथमिकतामा राखिएको छ ।
लकडाउनको बेलामा किसानहरु तरकारी, दुध सडकमा फाल्नुपरेको समस्या त छ नि फेरि ?
सुरुमा जुन बेला लकडाउन एकदमै कडा थियो । त्योबेला केही समस्याहरु आए । तर, अहिले बिस्तारै त्यस्तो किसानहरुले उत्पादन गरेका चिजहरु सडकमै फाल्नुपर्ने समस्याहरु हट्दै गएको छ । अहिले किसानहरुले उत्पादन गरेका खाद्य सामाग्रीहरुलाई बजार पु¥याउने कुरामा स्थानीय सरकारले सहजीकरण गरेको छ । किनभने चितवन जिल्ला कृषिदेखि सबै क्षेत्रमा सम्भावना भएको जिल्ला हो । त्यसलाई मध्येनजर गरेर हामीले काम अगाडि बढाएका छौं ।
सम्भावना छन् तर काम हुनुपर्यो त्यो देखिएको छैन ?
हाम्रो महानगरपालिकामा के चाहीं काम भएन । महानगरपालिकाको कुरा गर्नुपर्दा म आफू कुनै खालको भ्रष्टाचार गर्दिन । कुनै पनि खालको अनियमितता र भ्रष्टाचार हुन्छ भने मलाई सह्य छैन । मेरो महानगरपालिकामा त्यस्तोखालको भ्रष्टाचार, अनियमितता मैंले देखेको छैन । तपाईंहरुले देखेर औल्याइदिुनभयो भने आभारी हुनेछौं ।
ठूला–ठूला पसलहरु सबै खुले ?
ठूल्ठूला पसलहरु सबै खुलेका छैनन् ।
लकडाउन त खुकुलो भइसक्यो किन नखुलेका त ?
अब विस्तारै खुल्छन् । अहिले कोरोनाको महामारीलाई लिएर भौतिक दुरी, अन्य सुरक्षाका उपायहरुमा अनुसासनका कुराहरु छन् । यी सबैलाई व्यवस्थित गरेर विस्तारै मर्यादित ढंगबाट खुलाउने प्रयासमा छौं ।
प्रधानमन्त्रीले त प्रचण्डजी सरकारको मात्रै विरोध गर्नुहुन्छ पार्टीलाई संस्थागत ढंगले हाँक्न सक्नुभएन भन्नुहुन्छ नि तपाईं के भन्नुहुन्छ ?
प्रधानमन्त्रीले त्यस्तो भन्नुभएको मैंले सुनेको छैन । पार्टीमा दुईजना अध्यक्ष हुनुहुन्छ । पछिल्लो समय कार्यकारी अध्यक्षको रुपमा प्रचण्ड हुनुहुन्छ । र, पार्टी अध्यक्षसहित प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओली हुनुहुन्छ । अहिलेको कोरोना महामारीका कारण पार्टीलाई व्यस्थापन गर्न केही कठिनाइहरु छन् । सरकार र पार्टीको कामलाई केही तालमेल मिलाएर अगाडि बढाउनुपर्ने अवस्था छ । त्यसैले पार्टी र सरकारबीच तालमेल मिलाएर काम भएको कुरा पार्टीका नेतादेखि आम कार्यकता र जनतामा परेकै छ । अहिले स्थायी समितिको बैठक चलिरहेको छ । यसले पार्टी र सरकारबीच तालमेलको काम सुरधार गरेर अगाडि अढाउन सफल हुने भन्ने मैले विश्वास गरेकी छु ।
अब प्रचण्ड र केपी ओलीबीच कुरा मिल्छ ?
मिलिराखेको छ नि । केही समस्याहरुको बारेमा छलफल, बहसहरु हुन्छन् । भएका कमीकमजोरीका बारेमा पनि छलफल हुन्छ । त्यसैबाट सही समाधान निष्किन्छ । पार्टीभित्र यस्ता खालका छलफल, बहस नभएका कारण यस्ता समस्याहरु देखिएका हुन् । यसभन्दा अगाडि हामीले सोचेको जस्तो समस्या समाधान भएर गएको अवस्था थिएन । त्यो अब समाधान भएर जान्छ ।
फेरि प्रचण्डले त प्रधानमन्त्रीको विकल्प खोज्नुभएको छ नि ?
प्रचण्डले त्यस्तो भन्नुभएको छैन । अहिलेको अवस्थामा सबै मिलेर गरेको भए अझ राम्रो ढंगले काम गर्न सकिन्थ्यो । कतिपय क्षमताको पनि उचित स्थानमा जिम्मेवारी हुन्थ्यो । पार्टीमा धेरै क्षमतावान, नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने नेताहरु हुनुहुन्छ । उहाँहरु सबैलाई उचित स्थानमा जिम्मेवारी दिएको भए अझ धेरै गर्न सकिन्थ्यो भन्ने खबरदारी होला । त्यसकारण पार्टीमा बहस, छलफल भएको होला ।
त्यसोभए प्रधानमन्त्रीको आलोचना गर्नुपर्छ भन्ने कुरा सही हो ?
सरकारको विरोध गर्नुपर्छ भनेको होइन । यो सरकारको विरोध गरेको पनि होइन । खाली जिम्मेवारीमा सामुहिकता गरौं । सबैलाई आ–आफ्नो ढंगले जिम्मेवारी बहन हुने गरी जाऔं भनिएको हुनाले मलाई अन्यथा भएको जस्तो लाग्दैन ।
होइन, प्रचण्ड र प्रधानमन्त्रीबीचमा सहमति हुन्छ कि हुँदैन ?
सहमति त अहिले पनि छ नि ।
उहाँ त प्रधानमन्त्रीलाई हटाउन चाहनुहुन्छ नि ?
हटाउन कसरी चाहनुहुन्छ । उहाँले त पाँच वर्षसम्म केपी शर्मा ओली नै प्रधानमन्त्री हो भन्नुभएकै छ त ।
प्रचण्डले त बैठकमा जसरी आलोपालोको सहमति भएको थियो, त्यसबाट पछि हट्नु गलत रहेछ भन्नुभयो नि ?
छलफल, बहस हुँदा पार्टीलाई संस्थागत बनाउन, जिम्मेवारीलाई मजबुत बनाउन अलिअलि कुराहरु उठेका होलान् । तर, पाँच वर्षसम्म केपी शर्मा ओली प्रधानमन्त्री भनिसकेपछि अहिले लगभग तीन वर्ष बित्दैछ । यसो भनिरहँदा अध्यक्ष प्रचण्डबाट प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई कहाँनेर असर परेको छ ? त्यसकारण प्रधानमन्त्रीलाई असहयोग र विरोध गर्ने कुरा भएको छैन ।



प्रतिक्रिया दिनुहोस्