Logo

बाढीपहिरोबाट सतर्क हुन आवश्यक



काठमाडौँ, १४ असार । मनसुन सक्रिय रहेकाले यतिबेला नेपालमा बाढी, पहिरो र डुबानको जोखिम बढ्दो अवस्थामा छ । बाढी तथा विपद् व्यवस्थापन गर्न सरकार र सम्बन्धित निकायले पूर्वसूचना र पूर्वतयारीका कार्य थालिसके । पहिरो रोकथाम गर्न यस वर्ष पनि गतिलो पहल हुन सकेको छैन ।

अहिले कोरोना भाइरस कोभिड–१९ को महामारी चलिरहेको बेला नारायणगढ मुग्लिनसँगै पाल्पाकै सडकमा पहिरो खस्यो भने स्वाब सङ्कलन र परीक्षणमै असर पर्ने अवस्था छ । यसले जनस्वास्थ्यमै खेलवाड हुनसक्ने भएकाले पहिरो रोकथामको पूर्वतयारी बलियो हुनुपर्नेमा विज्ञको जोड छ । अझ बाढी र मौसमको पूर्वानुमान सुचारु रहे पनि पहिरोको पूर्वानुमान र पूर्वसूचना दिन नसक्दा बर्सेनि धेरैले ज्यान गुमाइरहेका छन् ।

विकासको गलत अवधारणा र सस्तो लोकप्रियता कमाउन पहाड छियाछिया पार्नु नै पछिल्लो समय पहिरो धेरै जानुको मुख्य कारक रहेको भूगर्भविद् तथा विपद्विज्ञ कृष्ण देवकोटा बताउनुहुन्छ । उहाँले यो गाउँमा मैले सडक लिएर आएँ भनेर मख्ख पार्दा उनै गाउँका बासिन्दाको त्यही खनेको पहाडमा परेर ज्यान गइरहेको अवस्था छ भन्नुभयो । अझ पहिरो रोकथाममा हुने गरेका थामथुमे प्रवृत्तिले त्यसको दिगो समाधान नदिने तर्क उहाँ गर्नुहुन्छ । नारायणगढ मुग्लिन सडकका पहिरोका बारेमा गहन अध्ययन गर्नुभएका उहाँले हालै त्यहाँका केही डाँडामा तारजालीले छेक्न गरिएको प्रयासलाई उहाँ सही मान्नुहुन्न ।

विगतमा निकै दुःख दिएको नारायणगढ मुग्लिन सडक खण्डकै कृष्णभीरको पहिरो समाधान गर्न उहाँले निकै कसरत गर्नुप¥यो । तारजाली, सिमेन्ट, रोडा र कुनै पनि छेकबारले थेग्न नसकेको त्यो पहिरो प्रकृतिमैत्री रूपमा समाधान गरिएपछि १२ वर्षदेखि त्यति दुःख नदिएको अवस्था छ । त्यसताका धेरै नमुना अध्ययन गरेर समाधान निकालिएको थियो । अहिले पनि मर्मत सम्भारको अभावमा धेरथोर माटो बग्न थालेको छ ।

देवकोटाका अनुसार पछिल्लो समय चुरे पर्वतका पहाड सक्रिय रहेको अवस्था छ । पहाड बन्ने प्रक्रियाको चरणमै चुरे रहेको छ । नेपालका अन्यत्रभन्दा तुलनात्मक रूपमा कमजोर र कान्छो पहाड मानिन्छ । त्यस पहाडको मुनितिर जथाभावी ढुङ्गामाटो र वन सम्पदाको दोहन हुँदा बनिनसकेको पहाड पहिरो बनेर खसिरहेको छ । देवकोटाले नेपालको मात्र होइन, हिन्दकुश हिमालयको रेन्ज, पामिरको नटदेखि म्यान्मारसम्म पुग्ने त्यो हिमशृङ्खला नै भौगर्भिक रूपमा तुलनात्मक रूपमा कमजोर मानिन्छ भनेर थप्नुभयो । यो समाचार आजको गोरखापत्रमा चाँदनी हमालले लेखेकी हुन् ।



प्रतिक्रिया दिनुहोस्