Logo

विना बर्दीका सीमा रक्षकको विकासमा ध्यान दिन नेकपा नेताको सुझाव



काठमाडौं, असार १४ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी स्थायी समिति बैठकमा नेपाल–भारत सीमा रक्षामा खटिएका स्थानीय जनताको वृत्तिविकासमा सरकारले विशेष जोड दिनुपर्ने आवाज उठेको छ । बैठकमा बोल्दै नेकपाका नेताहरुले सीमावर्ती क्षेत्रका जनतालाई लक्षित गर्दै विकासका योजनाहरु ल्याउनुपर्ने सुझाव सरकारलाई दिएका छन् ।

जारी स्थायी कमिटी बैठकमा बोल्दै शनिबार नेताहरुले भारतद्वारा अतिक्रमित नेपाली भूमि फिर्ताका लागि सरकारले विशेष पहल गर्नुपर्ने धारणासमेत राखेका छन् । नेकपा स्थायी कमिटीका सदस्य सत्यनारायण मण्डलले सीमा नाकाको रक्षा गर्ने नेपाली जनताको विकासका लागि सरकारले विशेष प्याकेजसहितको योजना ल्याउनुपर्ने बताए । विना बर्दीका ती सीमा रक्षकहरुको विकासमा सरकारले ध्यान दिन आवश्यक रहेको उनको भनाइ थियो ।

‘बिना बर्दीका रूपमा सीमाको रक्षा गर्ने नेपाली जनताको विकासका लागि सरकारले विशेष ध्यान दिन आवश्यक छ,’ मण्डलले भने, ‘ती नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु नभएको भए सीमाको रक्षा गर्न सकिँदैनथ्यो ।’
उनले मानव विकास सूचकांकमा कर्णालीभन्दा पनि तल रहेको सीमावर्ती क्षेत्रमा सरकारले ध्यान नदिए झनझन गरिबी बढ्ने बताएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्