Logo

ओली किन बैठकमा बस्न चाहेनन् ?



काठमाडौ १४ असार । नेकपाको स्थायी कमिटी बैठकमा गत बुधबार महासचिव विष्णु पौडेलले एजेन्डा प्रस्तुत गरेपछि सदस्यहरूबाट पालैपालो विरोध भयो । एजेन्डामा चित्त नबुझाउने नेताहरूले बैठक कक्षका फरक–फरक ठाउँबाट उठेर विरोध गरेका थिए ।

शनिबार बसेको नेकपा स्थायी कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललगायतका अन्य पदाधिकारीहरु तस्बिर स् प्रधानमन्त्रीको निजी सचिवालय

प्रधानमन्त्री केपी शर्मा ओलीनिकट एक स्थायी कमिटी सदस्यका अनुसार त्यस दिन असन्तुष्ट खेमाका नेताहरूको बसाइ योजनाबद्धजस्तो देखिन्थ्यो । ‘एक जना यहाँ, एक जना त्यहाँ, एक जना ऊ पर बसेको छ, छुट्टाछुट्टै बसे पनि सबैको एउटै स्वर छ,’ ती नेताले भने ।

बैठकमा पूरै अवधि बसेका प्रधानमन्त्री ओलीले झन्डै एक घण्टा भाषण गरेका थिए । अर्का अध्यक्ष पुष्पकमल दाहालले पनि एक घण्टा नै बोलेका थिए । स्थायी कमिटी सदस्यहरूको व्याख्या र विभिन्न सञ्चारमाध्यममा आएका खबरलाई विश्लेषण गर्दा उद्घाटन बैठकमा ओली रक्षात्मक र दाहाल आक्रामक देखिएका थिए । ओली र दाहालको अभिव्यक्तिका आधारमै बैठक वार कि पारको अवस्थामा जान्छ भन्ने आकलन नेताहरूले गरेका थिए । त्यसपछि बिहीबार एक दिन खाली छाडेर नेताहरूले शुक्रबार र शनिबारका बैठकमा धारणा राखेका छन् । यी दुई दिनमा सीमा समस्या र समाधानको उपायलाई मुख्य एजेन्डा बनाइएकाले नेताहरूले अरू विषयमा त्यति धेरै बोलिसकेका छैनन् तर प्रधानमन्त्री ओलीको कार्यशैलीमाथि भने व्यापक कुरा उठेको छ ।

‘हाम्रा कुरा प्रधानमन्त्रीले पनि सुन्नुपर्छ भनेर बालुवाटारमा बैठक राखिएको थियो तर बालुवाटारको बैठकमा समेत उहाँ उपस्थित नभएपछि प्रश्न त उठ्ने नै भयो,’ स्थायी कमिटी सदस्य मातृका यादवले कान्तिपुरसँग भने । शुक्रबार एकछिनमा आउँछु भनेका ओली बैठकमा उपस्थित नै नभएपछि नेताहरू भीम रावल, अष्टलक्ष्मी शाक्य, रघुजी पन्तलगायतले प्रश्न गरेका थिए । ओली शनिबारको बैठकमा भने करिब १५ मिनेटजति बसेर गए ।

ओलीले बैठकलाई त्यति ध्यान नदिनुको पछाडि केही कारण छन् । नेताहरूका अनुसार एक पार्टी एक पदको मुख्य एजेन्डामा ओली र दाहाल पक्षीय नेताहरूबीच बारम्बार कुरा भए पनि मिलिसकेको छैन । गत बुधबार र बिहीबार दिनभरजसो भएका छलफलमा पनि ओली पक्षधर नेताहरूले गत मंसिर ४ मा सरकार ओलीले र दल दाहालले चलाउने गरी भएको सहमतिलाई कार्यान्वयन गरेर जाऔं भन्ने प्रस्ताव गरिरहेका छन् । दाहाल पक्षधर भने एक व्यक्ति एक पदमै जानुपर्ने अडानमा देखिन्छन् । यही अडानका आधारमा नै दाहालले सहमतिका आधारमा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति छाडेर गल्ती त गरिनँ भन्ने अभिव्यक्ति दिएको नेताहरूको भनाइ छ । अहिलेकै समीकरणलाई आधार मान्दा ओली सचिवालय र स्थायी कमिटीमा स्पष्ट अल्पमत छन् । त्यसैले ओली पक्षका नेताहरू सकेसम्म दुई अध्यक्षलाई मिलाएरै जानुपर्छ भन्नेमा देखिन्छन् ।

दाहालतिरका पनि केही नेता यही समीकरणमा सहमति गर्नुपर्नेमा नै छन् । ‘त्यसैले हामी क्रस मिटिङ गरिरहेका हौं,’ दाहाल पक्षका एक नेताले भने, ‘तर अहिलेसम्म भएका छलफलमा दुई अध्यक्षको मिलनबिन्दु के हो भनेर पहिल्याउन सकेका छैनौं ।’ यस्तै, पहिलो दिनको बैठकमै बसाइको विषयलाई लिएर वरिष्ठ नेता माधवकुमार नेपालसित गलफती भएपछि पनि ओलीले बैठकमा सहभागी हुन त्यति चासो नदेखाएको एक नेताले बताए ।

ओलीलाई बैठकसँग वितृष्णा हुनुको अर्को कारण उपाध्यक्ष वामदेव गौतमबाट साथ नपाउनु पनि हो । बिहीबार अध्यक्षद्वय र गौतमबीच प्रधानमन्त्री निवास बालुवाटारमा लामो छलफल भएको थियो । उक्त छलफलमा पनि प्रधानमन्त्रीले गौतमलाई अब तपाईं प्रतिनिधिसभाको चुनाव लड्ने हो, तयारी गर्दै गर्नुस् भनेका थिए । ‘प्रधानमन्त्रीले चुनावको तयारी गर्नुस् भन्नुभयो, म अचम्ममा परेर फेरि दोहोर्‍याउनुस् त भनें, उहाँले त्यही दोहोर्‍याउनुभयो,’ गौतमको भनाइ उद्धृत गर्दै उनीनिकट स्रोतले कान्तिपुरसँग भन्यो, ‘त्यसपछि मैले तपाईंहरू दुई अध्यक्षले भनेर हुन्न, कमिटीमा कुरा ल्याउनुस्, कमिटीले भन्दा पनि के गर्छु–गर्छु, त्यो मलाई मात्रै थाहा छ ।’ गौतमको समेत साथ नपाउने भएपछि ओलीले आफूलाई एक्लिएको महसुस गरेका थिए, त्यसैले पनि उनले बैठकमा सहभागी हुन रुचि नदेखाएका हुन् । ‘बालुवाटारमै बैठक डाकेर ओली आफैं गयल हुनु गलत हो,’ नेता वेदुराम भुसालले भने । यो समाचार आजको कान्तिपुरमा बिनु सुवेदीले लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्