काठमाडौं, असार १४ । नेपालमा बर्सेनि सयौंको संख्यामा बालबालिका हराउने गर्छन्। बालबालिका खोजतलास समन्वय केन्द्र भृकुटीमण्डपको तथ्यांक हेर्दा हराउने बालबालिकामध्ये बालकभन्दा बालिकाको संख्या दोब्बर छ। बालबालिका बेचबिखनदेखि लिएर यौनजन्य, घरेलु मजदुर, आपराधिक क्रियाकलाप, इन्टरनेटको दुरूपयोगजस्ता क्रियाकलापमा संलग्न गराउन बालिका हराउने गरेको खोजतलास केन्द्रको प्रतिवेदनले देखाएको छ।
खोजतलास समन्वय केन्द्रका इन्चार्ज मोहनविक्रम दाहालले बढी संख्यामा हराउने बालिका १४ देखि १८ वर्ष उमेरसमूहका रहेको बताए। ‘बर्र्सेनि हराउने बालकालिकाको संख्या हेर्दा एकदेखि १४ वर्ष उमेर समूहका बालक र बालिकाको संख्या बराबर नै देखिन्छ,’ दाहालले भने, ‘तर १४ देखि १८ वर्ष उमेर समूहका बालबालिकाको तथ्यांक हेर्दा हराउने बालिकाको संख्या ह्वात्तै बढेको देखिन्छ। किशोरावस्था पुगेका हराउने बालिकाको संख्या बालकको भन्दा तेब्बर बढी देखिन्छ।’
केन्द्रको तथ्यांकअनुसार आव २०७४र७५ मा हराएका दुई हजार तीन सय ३० बालबालिकामध्ये बालकको संख्या नौ सय २३ छ भने बालिकाको संख्या एक हजार चार सय सात छ। उक्त तथ्यांकलाई उमेरसमूहको आधारमा हेर्दा एकदेखि १४ वर्ष उमेर समूहमा बालक ६ सय ३७ र बालिका चार सय ५१ गरी जम्मा एक हजार ८८ बालबालिका हराएका छन् भने १५ देखि १८ वर्षसम्मको तथ्यांक हेर्दा हराउने बालिकाको संख्या नौ सय ५८ छ भने बालकको संख्या दुई सय ८४ रहेको आजको नागरिक दैनिकमा खवर छ ।