जाजरकोट, असार १४ । देश कोरोनाको त्रासबाट जोगिन र जोगाउन हम्मे–हम्मे परेको समयमा वर्षायाम शुरु भएको छ । कोरोनाबाट जोगिन तयारी व्यापक हुँदै गर्दा वर्षायाममा प्राकृतिक विपतिबाट जुध्ने तयारी गर्न स्थानीय सरकारले भ्याएको देखिँदैन ।
जाजरकोट, रुकुमपश्चिम र डोल्पामा प्राकृतिक विपतीबाट जोगिने आवश्यक तयारी नहुँदा विगत वर्षका समस्या बल्झिने देखिएको छ । विपत् व्यवस्थापनको मुख्य भूमिकामा रहेको जिल्ला प्रशासन कार्यालय समन्वयको अभावमा अलमलमा परेको छ ।
विपत् व्यवस्थापका लागि सामान्य छलफल भए पनि परिणाम आउने गरी काम नभएको यस क्षेत्रका सर्वसाधारण बताउँछन् । शुरुमा लकडाउनका कारण काम गर्न पाइएन, अहिले केही खुकुलो हुँदै गर्दा समय घर्कीसकेको भन्दै काम गर्न मुस्किल भएको स्थानीय तहका अधिकारीको भनाइ छ ।
वर्षाको भेलसँगै उर्लँदै आएका नदी, खोला नियन्त्रणका गर्नका लागि तार, जाली खरिद गरेर जोखिमपूर्ण ठाउँमा लगाउनुपर्ने भए पनि अहिले समयको अभावका कारण सबै कामले गती लिन सकेको छैन ।
सम्बन्धित कार्यालयसँग तारजाली माग्दा आर्थिक वर्ष सकिन केही हप्ता मात्र बाँकी रहँदा काम कसरी हुन्छ भनेर सामग्री उपलब्ध नगराउँदा हैरान भएको बारेकोट गाउँपालिका–४ मैनाका देव बोहोराले जानकारी दिए । उनले भने, “बारेकोट सामग्री लिन कठिन भएको छ । पहिले लक डाउन थियो, अहिले अलि खुकुलो हुँदा समय मात्र होइन, बाटो अवरुद्ध हुँदा समस्या भएको छ ।” भेरी नदीको किनारका बस्तीहरु सबैभन्दा बढी समस्यामा परेका छन् ।
सरोकारवाला निकायबाट नदी नियन्त्रणका लागि आवश्यक सामग्री उपलब्ध नहुँदा भेरी किनाराका सर्वसाधारण त्रासमा बाँच्न बाध्य भएका हुन् । त्यस्तै छिन्चु जाजरकोट हुँदै डोल्पा जोड्ने सडकहरुको बीचमा रहेका खोलामा पानीको मात्रा बढ्दा यातायात सञ्चालनमा समेत चुनौती थपिएको छ ।
बिहीबार जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख मनबहादुर रावल योजना अनुगमन गरी फर्कदा रुकुमपश्चिम आठबीसकोट नगरपालिकाको बाँके खोलामा पानीको मात्रा बढ्दा झण्डै ४ घण्टा रोकिनुपरेको थियो । लामो समयसम्म खोलामा पानीको मात्रा कम नभएपछि रावलले पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटको गाडी सदरमुकामबाट बोलाएर आफ्नो गाडी बाँकेमै छोडेर सदरमुकाम फर्किएका थिए।
त्यस्तै सदरमुकामबाट अन्य स्थानीय तहमा जानका लागि बीचबीचमा रहेका खोलाहरुमा पानी बढ्दा यात्रामा असहज भएको छ । नौँ वर्षदेखि शिवालय गाउँपालिका–१ मोर्कमा सवारी साधन सञ्चालन गर्ने पुल निर्माण नहुँदा पानी पर्न वित्तिकै छेडा–जुनिचाँदे सडक बन्द हुने गर्दछ । छिन्चु–जाजरकोट सडकखण्डको पासागाड, खोदाखोलालगायत चार ठाउँमा पुल समयमै निर्माण नहुँदा पानी बढेसँगै यातायातका साधन ठप्प हुने गरेका छन् ।रासस