Logo

कोरोना संकटमा ११ हजार श्रमिक स्वदेश फर्किएः ८७ शव ल्याइयो



काठमाडौं, १५ असार । विदेशमा समस्या परेका ११ हजार ३ सय ७१ नेपाली स्वदेश पर्किएका छन्। जेठ २२ गतेदेखि असार १३ गते शनिबारसम्म विभिन्न मुलुकबाट कोरोनाका कारण समस्यामा परेका ११ हजार ३ सय ७१ नेपाली स्वदेश फर्काइएको हो।

कोभिड–१९ नियन्त्रण व्यवस्थापन समितिका अनुसार विदेशमा अलपत्र परेका नेपालीको उद्धार तीव्र गतिमा भइरहेको छ।

उद्वारका लागि गैरआवासीय नेपाली संघका विभिन्न मुलुकस्थित राष्ट्रिय समन्वय परिषद्ले सहकार्य एवं समन्वय गरिरहेका छन्। शनिबारसम्म सबैभन्दा बढी कुवेतबाट २ हजार २ जना नेपाली स्वदेश फर्किएका छन्। यस्तै यूएईबाट २ हजार १७ जना, साउदी अरेबियाबाट एक हजार दुई सय १८, मलेसियाबाट नौ २१, बगंलादेशबाट आठ १५, कतारबाट ६ सय ३८, माल्दिभ्सबाट, ६ सय ४, जापानबाट ४ सय ९२, अस्ट्रेलियाबाट २ सय ६९, बहराइनबाट ४ सय २०, थाइल्याण्डबाट ३ सय २६ जना नेपाली स्वदेश फर्किएका हुन्।

त्यस्तै ओमानबाट ३ सय १३, अमेरिकाबाट ४ सय ८३, दक्षिण कोरिया २ सय २८, सिंगापुरबाट १ सय ४६, बेलायत २ सय २९, हङकङबाट ८९, पाकिस्तान ७२, म्यानमारबाट २६, अफगानिस्तानबाट १८ र श्रीलंकाबाट ५ जना गरी ११ हजार ३ सय ३१ नेपाली स्वदेश फर्किएका हुन्।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तका अनुसार संघले विदेशस्थित आफ्ना राष्ट्रिय समन्वय परिषद्लाई अलपत्र नेपालीको सहयोग र उद्धारका लागि गन्तव्य मुलुकका राजदूतावाससँग समन्वय एवं सहकार्य गरिरहेका छन्।

सरकारले पहिलो चरणमा अति समस्यामा परेका २५ हजार श्रमिक ल्याउने योजना बनाएको छ। रोजगारदाताले टिकट नदिएमा कामदार आफैंले टिकट हालेर स्वदेश फर्किने गरेका छन्।

८७ वटा शव नेपाल ल्याइयो
कोरोना भाइरस कोभिड १९ का कारण विदेशमा अलपत्र परेका शव ८७ वटा शव नेपाल ल्याइएको छ। विदेशमा विभिन्न कारण ज्यान गुमाएका तर लकडाउनका कारण नेपाल ल्याउन नपाएका ती शव नेपाल ल्याइएको बोर्डले जनाएको छ।

हालसम्म कतारबाट २० वटा शव नेपाल ल्याइएको छ। यस्तै साउदी अरेबियाबाट २०, मलेसियाबाट ३१, कुवेतबाट ७, यूएईबाट ५, बहराइनबाट ३ र ओमानबाट एउटा शव नेपालमा ल्याइएको गैरआवासी नेपाली संघले जनाएको समाचार आजको अन्नपुर्ण पोस्टले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्