Logo

कोरोना त्रासको असरः आत्महत्या बढेर दिनहुँ १९



काठमाडौँ, १५ असार । गत मंगलबार बिहान १० बजेतिरको कुरा हो । काठमाडौं–भक्तपुरको साँध छुट्याएर बग्ने मनोहरा खोलामा एक युवकले हामफाले । प्रत्यक्षदर्शीले दिएको सूचनाका आधारमा प्रहरीले उनको खोजी सुरु गर्‍यो तर रातभरको दर्के झरीका कारण उर्लेको मनोहराले ती युवकलाई एकैछिनमा बगायो ।

बुधबार दिउँसो मात्रै प्रहरीले हामफाल्नेको शव फेला पार्‍यो । उर्लंदो खोलामा हामफाल्ने युवक रामेछापको मन्थली घर भई काठमाडौं, जडीबुटी बस्ने ३४ वर्षीय सानुबहादुर कार्की रहेको प्रहरीले पत्ता लगायो ।

सानुबहादुर आफैंलाई सिध्याउन किन तम्सिए रु महानगरीय प्रहरी वृत्त बानेश्वरका डीएसपी दक्ष बस्नेतले आत्महत्या पुष्टि भए पनि त्यसका कारण यकिन भइनसकेको बताए । तर परिवारका अनुसार दुई वर्षअघि किस्ताबन्दीमा गाडी किनेका सानु पछिल्ला दिन कसरी गाडीको किस्ता तिर्ने भन्ने तनावमा थिए । परिवारका सदस्यले प्रहरीलाई बताएअनुसार लकडाउनसँगै गाडी थन्किएपछि उनको आम्दानीको बाटो सुकेको थियो । त्यही बेला गाडी बेच्ने कम्पनीले उनलाई चैतयताको सबै किस्ता तिर्न दबाब दिइरहेको थियो । कार्कीको घटना अनुसन्धानमा जुटेका एक प्रहरीले आर्थिक संकटकै कारण तनावमा आएर आत्महत्या गरेको बताए । यो खबर आजको कान्तिपुर दैनिकमा जनकराज सापकोटाले लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्