Logo

मलाई हटाउन दूतावास र होटलहरूमा चलखेल



काठमाडौं, असार १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले आफूलाई हटाउने खेल सुरु गरे पनि त्यो सम्भव नहुने बताएका छन्। कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको भूमि समेटेर नक्सा जारी गर्ने, संविधानसमेत संशोधन गरेर त्यसलाई लिपिबद्ध गर्ने काम गरेपछि आफूलाई हटाउने खेल सुरु भएको प्रधानमन्त्री ओलीको भनाइ छ।

‘दिल्लीका सञ्चारमाध्यम सुन्नुहोस्, त्यसैले निर्देश गरिहाल्छ कि कहाँ–कहाँ के–के भइरहेको छ। यहाँका होटलहरूमा भइरहेका गतिविधिहरू हेर्नुहोस्, त्यसले पनि देखाइरहेको छ। एम्बेसीको सक्रियता, त्यसले पनि देखाइरहेको छ’, जननेता मदन भण्डारीको ६९औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा ओलीले भने, ‘तर, म तपार्ईंहरूलाई यति भन्छु, नेपालको राष्ट्रियता त्यति कमजोर छैन। संविधानमा नक्सा सामेल गरेबापत यस देशको प्रधानमन्त्रीलाई हटाउँछु भन्ने कसैले सपना देखेको छ भने आजको राष्ट्रियता त्यस्तो कमजोर छैन।’

ओलीले भने ‘तपाईंहरूले सुन्नु भएको होला, हप्ता–१५ दिनमा प्रधानमन्त्री परिवर्तन हुँदै छ भन्ने। बहस चलेको छ, अहिलेको अहिल्यै केपी ओलीलाई नहटाई हुँदैन। पहिले यहाँहरूलाई सम्झना होला, चीनतिरको पारवहन सम्झौता गरेर फर्किएपछि सरकार ढालिएको थियो। किनभने, हामीसँग बहुमत थिएन।

अहिले त्यही सपना देखेर संविधान संशोधन भएर नक्सा सार्वजनिक भएपछि ९यस्तो अपराध गर्ने केपी ओलीलाई अब भित्रभित्रको कुरा हो त्यो, बाहिर–बाहिर भन्न नसक्ने तर भित्रभित्र यस्तो अपराध गर्नेलाई० दिल्लीका सञ्चारमाध्यम सुन्नुहोस्, त्यसैले निर्देश गरिहाल्छ कि कहाँ–कहाँ के–के भइरहेको छ। यहाँको होटलहरूमा भइरहेका गतिविधिहरू हेर्नुहोस्। त्यसले पनि देखाइरहेको छ। एम्बेसीको सक्रियता त्यसले पनि देखाइरहेको छ। तर, म तपाईंहरूलाई यति भन्छु, नेपालको राष्ट्रियता त्यति कमजोर छैन। संविधानमा नक्सा सामेल गरेबापत यस देशको प्रधानमन्त्रीलाई हटाउँछु भन्ने कसैले सपना देखेको छ भने आजको राष्ट्रियता त्यस्तो कमजोर छैन ।



प्रतिक्रिया दिनुहोस्