Logo

प्रचण्ड र माधव नेपाललाई ‘राष्ट्रघाती’ देखाउने ओलीको रणनीति



काठमाडौं, १५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले केही नेताहरु आफूलाई सत्ताबाट हटाउन लागिपरेको आरोप लगाए । उनले नाम नतोकी भारत देखि नेपालका होटलहरुसम्म आफूलाई हटाउनका लागि बैठकहरु बसेको बताए । आफूलाई हटाउन लागेका नेपालका नेताहरुले भारतसँग साँठगाँठ गरेको भन्ने उनको आशय थियो ।

ओलीले आफूलाई हटाउन खोज्नुको कारण नयाँ नक्शा जारी गरी लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता गर्न खोज्नु नै भएको दाबी गरे । आफू राष्ट्रवादी भएको र राष्ट्रियताको पक्षमा काम गरेकाले चार वर्ष अघि ९ महिनामै सत्ता ढालिएको र अहिले पनि त्यस्तै गर्न खोजिएको उनको आरोप थियो ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ९ असारमा बालुवाटारमा ओलीलाई सरकारबाट फिर्ता हुन भनेको र पार्टीका प्रभावशाली नेताहरु एकजुट भएर ओलीविरुद्ध लागेपछि उनले राष्ट्रियता र राष्ट्रवादको अस्त्र हानेका छन् । उनले आफूलाई हटाउन खोज्नेहरु भारतसँग मिलेको भन्न खोजे । यसरी ओलीले आफूलाई हटाउन खोज्नेलाई भारतपरस्त र राष्ट्रघाती देखाउन खोजेका छन् ।

ओलीले नाम नतोकी भनेपनि नेकपा नेताहरु प्रचण्ड र माधवकुमार नेपाललाई संकेत गर्दै भारतसँग मिलेर आफूलाई हटाउन खोजेको आरोप लगाएका हुन् । दुवै नेता ओलीको विरोधमा एकजुट भएर उत्रिएका छन् । उनलाई सरकारबाट फिर्ता बोलाउने सम्मको तयारी नेकपाभित्र छ ।

ओलीले राष्ट्रवादको अस्त्र छाड्ने भेउ पाएरै उपाध्यक्ष बामदेव गौतमले १३ असारमा स्थायी कमिटि बैठकमा विगतमा ओलीले भारतसँग महाकाली सन्धी गर्न भुमिका खेलेको र त्यसको विरोधमा आफू उत्रदा कारबाही भोगेको विषय उठाए । महाकाली सन्धी राष्ट्रघाती थियो र गम्भीर गल्ती थियो भनी पार्टीले निर्णय गर्नुपर्ने धारणा राखे । त्यतिबेला आफूलाई सन्धीको विरोध गर्दा पार्टीबाटै निष्काशन गरेको प्रसंग पनि औल्याए ।

ओलीले राष्ट्रवादको अस्त्र हानेर पार्टीभित्रका विरोधीलाई कमजोर पार्न खोजिरहँदा गौतमले पहिल्यै नै महाकाली सन्धीको विषय उठाउनुलाई अर्थपूर्ण मानिएको छ । अब नेकपाभित्र को राष्ट्रवादी ? र को राष्ट्रघाती ? को बहस केन्द्रित हुने देखिदैछ । ओली जसले आफूलाई हटाउन खोज्छन् ती राष्ट्रघाती हुन् भनी देखाउन खोजिरहेका छन् । आफूले राजीनामा दिएपछि राष्ट्रियताको विषय अरुले नउठाउने र अतिक्रमित भुमि पनि फिर्ता ल्याउन नसक्ने उनको दाबी छ । यसरी ओलीले नक्शालगायतका विषय राजनीतिक अस्त्रका रुपमा प्रयोग गरिरहेको पुष्टि हुँदै गएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot