Logo

नक्सा छाप्दा हटाउने खेल भयोः ओली



काठमाडौं, असार १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नेपालको नयाँ नक्सा जारी गरेपछि आफूलाई प्रधानमन्त्री पदबाट हटाउने खेल सुरु भएको बताएका छन्। भारतबाट अतिक्रमित नेपाली भूमिसमेत समेटेर नयाँ नक्सा प्रकाशित गरेपछि आफूलाई हटाउन विभिन्न होटलमा गतिविधि हुन थालेको उनले बताएका हुन्।

मदन भण्डारीको ६९औं जन्मजयन्तीको अवसरमा आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई हटाउन होटल होटलमा गतिविधि हुने गरेको तथा भारतीय दूतावास सक्रिय भएको दाबी गरे। उनले आफूलाई हटाउन जो–जो सक्रिय भए पनि नेकपा संसदीय दल तथा पार्टी त्यति कमजोर नभएको स्पष्ट पारे।

भारतद्वारा अतिक्रमित नेपाली भूमि समेटेर नयाँ नक्सा छापेपछि आफूविरुद्ध षडयन्त्र भएको उनले बताए। ‘भारतले गरेका गल्तीविरुद्ध बोल्नेबित्तिकै जो कोही हटाउन लाग्ने वा हट्ने हो भने भोलि आउने प्रधानमन्त्री बोल्नै नसक्ने अवस्था हुन्छ। त्यसकारण आजका लागि नभई भोलिका लागि पनि आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहनुपर्छ’, उनले भने, ‘अहिले केपी ओलीलाई हटाउनुपर्छ भनेर खुला दौडधुप भएका छन्। भित्रभित्र यस्तो अपराध गर्ने मान्छेलाई राख्नुहुन्न भन्न थालिएको छ। नक्सा छापेकालाई अपराध भनेका छन्। मलाई हटाउन होटलहरुमा गतिविधि भएका छन्। राजदूतावासमा सक्रियता बढेको छ।’

ओलीले नेपालको नयाँ नक्सा छापेबापत कसैले आफूलाई हटाउँछु भनेर सोचेको भए त्यो पूरा नहुने र नेपालको राष्ट्रियता त्यति कमजोर नभएको बताए। ‘नक्सा छापेबापत प्रधानमन्त्रीलाई कसैले हटाउँछु भनेको छ भने नेपालको राष्ट्रियता त्यति कमजोर छैन, तुरुन्तै मलाई हटाउन सकियोस्। कसैले नसोचे हुन्छ। हिजोको जस्तो कसैले हतारो नगरे पनि हुन्छ, अतिक्रमित भूमि फिर्ता ल्याउने हो’, ओलीले भने।

ओलीले आफू अहिले जिम्मेवारीबाट हटिदिँदा आगामी दिनमा नेपालको पक्षमा बोल्ने अर्को प्रधानमन्त्री पनि हट्नुपर्ने अवस्था आउने बताए। ‘मलाई प्रधानमन्त्रीको जिम्मेवारीमा बस्ने मन छैन तर अहिले हट्ने हो भने भने भोलि कोही नेपालको पक्षमा बोल्दा अर्को दिन हट्छ। आफ्ना लागि होइन, देशका लागि, आजका लागि होइन, भोलिका लागि म प्रधानमन्त्रीको जिम्मेवारीमा रहनुपर्छ’, उनले भने।

प्रधानमन्त्री ओलीले विगत सम्झँदै भारतको नाकाबन्दीका बेला आफूले चीनसँग पारवहन सन्धि गरेर आएपछि सरकार ढलेको बताए। उनले त्यतिबेला आफ्नो पार्टीको बहुमत नभएका कारण सरकार ढलेको तर अहिले पार्टी कमजोर नभएको र बहुमतको सरकार भएको बताए। उनले अतिक्रमित भूमि नेपालले फिर्ता लिनुपर्ने भएकाले अब पछाडि फर्कने ठाउँ नभएको बताएको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्