दाङ, १५ असार । नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको विद्रोही नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ अदालतको आदेशपछि रिहा भएलगत्तै पुनः गिरफ्तारीमा परेका छन् । सोमबार दाङ देउखुरी जिल्ला अदालतले रिहा गरेलगत्तै प्रहरीले वीरजङ्गलाई पुनः गिरफ्तार गरेर काभ्रे लगेको छ ।
जिल्ला अदालत दाङले १५ हजार धरौटीमा रिहाइको आदेश गरेपछि प्रहरीले अदालत परिसरबाटै वीरजङ्गलाई गिरफ्तार गरेको हो ।
२०७६ असोज २९ गते चन्द नेतृत्वको नेकपाको राप्ती ब्युरो बैठकबाट गिरफ्तार भएका वीरजङ्गसहित २१ जनामध्ये उनलाई तुलसीपुर कारागारबाट जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।
चन्द नेत्रविक्रम चन्दका दाजु हुन् । उनको पुनः गिरफ्तारीलाई अर्थपूर्ण मानिएको छ ।