Logo

मेलम्चीको पानी असारको अन्तिम सम्ममा सुरुङमा पठाउने तयारी



काठमाडौँ, १६ असार । मेलम्चीको पानी काठमाडौँ उपत्यकामा झार्नका लागि पथान्तरणको तयारी गरिएको छ । राष्ट्रिय गौरवको सो आयोजनामा सुरुङको निर्माणको काम झण्डै सकिएकाले पानी सुरुङमा पठाउन लागिएको हो ।

सुरुङ निर्माणको काम सकिएर अहिले अन्तिम काम भइरहेको छ । बन्दाबन्दीले सो आयोजना निर्माणमा केही ढिलाइ भएपनि निर्धारित समय असार मसान्तमा नै पानी पठाउन तयारी भइरहेको खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ ।

सुरुङमा पठाइए पनि पानी काठमाडौँ उपत्यकावासीको घरघरमा पुग्न अझै केही समय लाग्ने मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताउनुभयो । उहाँका अनुसार सुरुङको परीक्षणकै लागि केही समय लाग्नेछ । पहिले सुरुङमा पानी भरिने र भरिएपछि त्यसमा कुनै चुहावट छैन भनी परीक्षण गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पानी भरिसकेपछि कुनै चुुहावट नभएपछि मात्रै उपत्यकामा पानी झार्न सकिन्छ, चुहावट भएमा त्यसको मर्मत गरिन्छ ।”

सुरुङभित्र अहिले तीन मुख्य र अर्को एउटा गरी चार गेटहरुको अन्तिम काम भइरहेको छ । सो आयोजनाअन्तर्गत नै सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्र निर्माण सम्पन्न भइसकेको छ । एउटा केन्द्रको निर्माण जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० र अर्को एशियाली विकास बैंकको सहयोगमा निर्माण भएको हो ।

उपत्यकामा पानी झारेपछि पनि यहाँ जडान भएका पाइपहरुको परीक्षण हुने प्रवक्ता शाक्यले बताउनुभयो । आयोजना कार्यान्वयन निर्देशनालयले पानी वितरणका लागि आवश्यक पर्ने पानी ट्याङ्की नौ ठाउँमा र पहिलो चरणमा वितरण हुने अधिकांश स्थानमा पाइप जडान गरिसकेको छ । अहिले पाइपको बाग्मती नदीको पानीले परीक्षण भइरहेको छ । ठूलो परिणाममा पानी पठाउनुपर्ने भएकाले पूर्णरुपमा भने मेलम्चीको पानी आएपछि नै परीक्षण गर्न सकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “नयाँ बनेका प्रणाली परीक्षण हुँदा केयुकेएलको पुरानो प्रणलीबाटै पानी वितरण हुनेछ ।” यो समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot