काठमाडौं, असार १६। हरेक बर्ष विविध कार्यक्रम गरी बनाउने गरिएको संसद दिवसका अवसरमा यस बर्ष भने कुनै कार्यक्रम नहुने भएका छन् । कोरोना भाइरसको महामारीका कारण यस वर्ष औपचारिक कार्यक्रम नगरिने संसद सचिवालय र पूर्व सांसद मञ्चले जनाएको छ ।
विक्रम सम्बत् २०१५ सालमा भएको पहिलो निर्वाचनपछि २०१६ साल असार १६ गते जनविनर्वाचित संसदको पहिलो बैठक बसेको दिनको सम्झनामा हरेक बर्ष असार १६ गत संसद दिवस मनाउने गरिएको छ ।
दिवसको अवसरमा प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले संयुक्त विज्ञप्ति निकाल्दै शुभकामना दिएका छन््् । विज्ञप्तिमा संसदीय अभ्यासलाई सुधार गर्नुपर्ने अवस्था आएको उल्लेख गरिएको छ । जनतका प्रतिनिधिमार्फत शासन संचालन गरिने सर्वोत्तम शासन व्यवस्थाको रुपमा संसदीय शासन प्रणालीलाई लिइएको उल्लेख छ ।
साथै, संसदीय अभ्यासलाई निरन्तर सुधार गरी यसका मुल्य र मान्यतालाई संस्थागत गर्दै व्यवहारमा उतार्न हरदम प्रयत्न गर्नुपर्ने संघीय संसदका सभामुख र अध्यक्षले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।