Logo

प्रदेश ५ मा जताततै सलह, बास बस्दै, बाली खाँदै, उड्दै



बुटवल, १७ असार । भारतबाट शनिबार रुपन्देही, कपिलवस्तुलगायत सिमावर्ती जिल्ला हुँदै छिरेका सलह कीरा प्रदेश ५ का विभिन्न जिल्लाका गाउँगाउँसम्म पुगेका छन् । ती कीरा बास बस्दै, बाली खाँदै, उड्दै गरिरहेका छन् ।

शनिबार बुटवलको आकाशमा हुलका हुल देखिएका सलह मङ्गलबार गुल्मी, अर्घाखाँची, पाल्पा, बाँके, बर्दिया, प्यूठान, दाङलगायत जिल्लाहरूमा प्रशस्त देखिएका छन् ।
स्थानीय समाचारदाताका अनुसार सलहले आतङ्कित किसान र स्थानीय सलह भगाउन जाग्राम बस्दै थाल ठटाउने, चर्को आवाजमा कराउने, गीत बजाउने, आगो बालेर धुवाँ निकाल्नेलगायत उपायहरू अपनाइरहेका छन् ।

बाँके र बर्दियामा हजारौँ

नेपालगञ्ज समाचारदाताका अनुसार प्रदेश नम्बर पाँचका विभिन्न जिल्लामा भित्रिएको सलह बाँके र बर्दियामा पनि भित्रिएको छ । बाँकेको खजुरा, बर्दियाको गेरुवामा सलह भित्रिएको हो ।

बाँकेको खजुरामा केही मात्र छिटफुट रुपमा देखिए पनि बर्दियाको गेरुवा गाउँपालिका वडा नं १ बगहीपुर र जनकनगरमा भने हजारौँको सङ्ख्यामा देखिएको वडाध्यक्ष दयाराम वैद्यले बताउनुभयो ।

बगहीपुरको खेतमा हजारौँको सङ्ख्यामा सलह देखिएपछि स्थानीय किसानले मादल र थाल बजाएर भगाएको र केहीलाई माछा मार्ने जालमा फसाएर समात्दै मारेको अध्यक्ष वैद्यले बताउनुभयो ।

खेतबाट भगाएपछि नजिकैको जङ्गलमा गएर रुख बिरुवामा बसेका थिए । बाँके र बर्दियामा पहिलेदेखि नै सचेतनालगायत सबै तयारी पूरा गरेको जनाउँदै कृषि ज्ञान केन्द्र नेपालगञ्जले बर्दिया र बाँकेमा सलह भित्रिएको सूचना आएको समाचार आजको गोरखापत्रले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्