Logo

बन्दीपुर सिल, तनहुँमा १२४ जना कोरोना सङ्क्रमित



तनहुँ, १६ असार। तनहुँमा थप पाँच जनामा कोरोना भाइरस ९कोभिड–१९० बाट सङ्क्रमित भएका छन् । योसँगै जिल्लामा मङ्गलबार सम्ममा सङ्क्रमितको सङ्ख्या १२४ जना पुगेको छ ।

मङ्गलबार व्यास नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका तीन जना पुरुष र दुई जना महिलामा सङ्क्रमण पुष्टि भएसँगै उक्त सङ्ख्या पुगेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । यसैगरी कोरोनालाई जितेर निको भई घर फर्किनेको सङ्ख्या तनहुँका विभिन्न स्थानहरूमा १६ पुगेको छ ।

बन्दीपुर गाउँपालिका सिल
यसैबीच, तनहुँँको बन्दीपुर गाउँपालिकाले आफ्नो क्षेत्रमा असार १६ देखि २२ गतेसम्म बन्दाबन्दी थप गरेको छ । स्वास्थ्य सेवा निर्देशानालय गण्डकी प्रदेश पोखराको पीसीआर रिपोर्ट अनुसार बन्दीपुरका थप नौ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएकोले सङ्क्रमण फैलन नदिन सिल गरिएको गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिनुभयो ।

एक सय एक जनाको स्वाब सङ्कलन गरी परीक्षणको लागि पठाइएकोमा अस्पतालका कर्मचारी र सुरक्षाकर्मी चार जना र क्वारेन्टाइनमा रहेका पाँच जना गरी नौ जनामा सङ्क्रमण देखिएकाले बन्द गर्नुपरेको गाउँपालिकाले जनाएको छ ।

समुदायमा थप सङ्क्रमण फैलनसक्ने स्थितिलाई मध्यनजर गर्दै बन्दाबन्दी थपिएको अध्यक्ष थापा बताउनुहुन्छ । यसअघि पनि गाउँपलिकाले एक साताको लागि बन्दाबन्दी थप गरेको थियो । बन्दीपुरमा कोराना सङ्क्रमितको सङ्ख्या २० पुगेको समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्