Logo

बालुवाटारमा प्रचण्ड, माधव, झलनाथ र बामदेवको एउटै स्वरः राजीनामा भारतले होइन, हामीले मागेको हो



काठमाडौं, १७ असार । नेपाल कम्युनिस्ट पार्टी नेकपा स्थायी कमिटी मंगलबार बसेको बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले आफूलाई हटाउन भारत सक्रिय भएको भनी दिएको अभिव्यक्तिलाई लिएर चर्काचर्की भएको छ।

बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्‍त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्‍त्रीबाट राजीनामा दिन आग्रह गरेका छन्।

प्रधानमन्त्री ओलीले मदन भण्डारी फाउण्डेसनले आइतबार गरेको कार्यक्रममा भारतले आफूलाई हटाउन होटल र दूतावासमा चलखेल गरिरहेको अभिव्यक्ति दिएका थिए। बैठकमा सहभागी एक स्थायी समिति सदस्यका अनुसार ओलीको अभिव्यक्तिप्रति नेताहरुले आक्रोश व्यक्त गरेका हुन्। प्रधानमन्‍त्रीजस्तो जिम्मेवार व्यक्तिले यस्तो उत्ताउलो र सतही अभिव्यक्ति दिन नहुने बताएका थिए। यसले पार्टी, सरकार र मुलुकको प्रतिष्ठामा समेत आँच पुगेको उनीहरुले बताएका थिए।

‘पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा भारतले होइन मैले मागेको हुँ’, प्रचण्डको भनाइ उद्धृत गर्दै एक स्थायी कमिटी सदस्यले भने, ‘तर, मैले राजीनामा आज होइन वैशाख १७ गते मागेको हुँ। त्यो बेला नयाँ नक्सा जारी भएको थिएन।’

कसैले राजीनामा मागेको भए अर्थात् पदबाट हटाउन चाहेको भए पार्टीको आन्तरिक बैठकमा छलफल गर्न छोडेर सार्वजनिक कार्यक्रममा बोलेको भन्दै नेताहरु खनाल, नेपाल र गौतमलेसमेत आपत्ति जनाएका हुन्। नेताहरुले सरकार ढाल्न र प्रधानमन्त्री फेर्न कुन शक्ति लागेको हो त्यो प्रष्ट पार्न प्रधानमन्त्रीसँग आग्रह गरेको समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot