Logo

सिक्टाले छाड्यो खेतमा पानी



नेपालगन्ज, असार १७ । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले किसानको खेतबारीमा पानी छाडेको छ। आयोजनाले पश्चिम नहर र निर्माणाधीन पूर्र्वी नहरबाट पानी छाडेको हो।

पश्चिम मूल नहरको जेठी नालासम्म र पूर्र्वी नहरको साविक राजकुलोबाट किसानको खेतमा पानी छाडिएको आयोजनाका निर्देशक लोकबहादुर थापाले बताए। धान रोपाइँलाई मध्यनजर गर्दै विभिन्न शाखा तथा प्र–शाखा नहरबाट खेतबारीमा पानी छाडिएको उनले बताए।

‘हामीले वैशाख महिनाबाट केही ठाउँमा पानी छाड्यौं, त्यसपछि जेठ १५ पछि पनि क्रमशः विभिन्न शाखा र प्रशाखाबाट पानी छाड्ने काम भइरहेको छ,’ थापाले भने, ‘यो वर्ष करिब १६ हजार हेक्टर जमिनमा सिक्टाको पानी छाड्ने हाम्रो अनुमान छ।’ असार १५ सम्म आइपुग्दा अधिकांश किसानको खेतमा पानी पुगेको उनको दाबी छ। सिक्टा सिँचाइ आयोजनाबाट बाँकेमा कुल ४२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पु¥याउने सरकारको लक्ष्य छ।

पश्चिम मूल नहरबाट ३३ हजार र पूर्वी नहरबाट नौ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ पु¥याउने लक्ष्य राखिएको छ। थापाका अनुसार पश्चिम मूल नहरअन्तर्गत रहेका सिधनिया र डुडुवा शाखा तथा जेठी नाला हुँदै किसानको खेतबारीमा पानी छाडिएको हो।

५० क्युमेक्स क्षमता रहेको सिक्टाको पश्चिम मूल नहरबाट अहिले दुईदेखि तीन क्युमेक्स पानी छाडिएको उनले जानकारी दिए। ‘वैशाख महिनातिर चारदेखि पाँच क्युमेक्ससम्म पानी छाडेका थियौं, अहिले वर्षायाम पनि सुरु भइसकेको हुँदा आवश्यकता अनुसार दुईदेखि तीन क्युमेक्स मात्र छाडिरहेका छौं,’ उनले थपे, ‘आवश्यक परेमा बढाउँदै लैजाने हो।’ तर, अहिले तत्कालका लागि पानीको क्षमता बढाउने अवस्था नरहेको बताए। नहरमा थोरै परिमाणको पानी चलाइएको हुँदा अहिले कतै समस्या नदेखिएको आयोजनाका इन्जिनियर बताउँछन्।

यस्तै पूर्वी नहरअन्तर्गत रहेको साबिक राजकुलोबाट पनि आवश्यकता अनुसार किसानको खेतबारीमा राप्ती नदीको पानी छाडिएको आयोजना निर्देशक थापाले जानकारी दिएको आजको नागरिक दैनिकले खवर छापेको छ ।



प्रतिक्रिया दिनुहोस्