पोखरा, १८ असार । कोरोना भाईरस महामारीका कारण गरिएको लकडाउने आर्थिक रुपमा धरासायी बनाएको भन्दै सार्वजनिक यातायात सेवा प्रदायक व्यावसायीले बैंक तथा वित्तीय संस्थालाई गाडी किन्दाको ऋणको किस्ता र ब्याज तिर्न नसक्ने अवस्था आएको बताएका छन् । वित्तीय संस्थालाई तिर्नुपर्ने किस्ताको अवधि तत्काल नबढाइदिए गाडीको सम्पुर्ण कागजात र तालाचाबी बुझाउने चेतावनि उनीहरुले दिएका छन् ।
कोरोना महामारीबीच अरु क्षेत्रलाई सरकारले सम्बोधन गरेपनि यातायात व्यासायीलाई वेवास्ता गरेकोले गाडी किन्दाको ऋणको किस्ता र ब्याज तिर्न नसक्ने अवस्था आइपरेको बताएका छन् । तत्काल ६ महिना अवधि नथपिए आइतबारभित्र कागजात र चाँबी संकलन गर्ने तथा सोमबारदेखि वित्तीय संस्थालाई बुझाउन थाल्ने उनीहरुले बताए ।
पृथ्वी राजमार्ग बस संचालक कम्पनिले बुधबार यहाँ पत्रकार भेटघाट गरेर बंैक तथा वित्तीय संस्थाको किस्ता भुक्तानि समय कम्तिमा ६ महिना थप हुनुुपर्ने बताएको छ । कम्पनि अध्यक्ष योगेन्द्रबहादुर केसीले किस्ता र ब्याज तिर्ने समय ६ महिना थप नभए आगामि आइतबारसम्म तालाचाँबी संकलन गर्ने र सोमबारदेखि बुझाउन थाल्ने बताए । ‘अब हामीले तालाचाँबी र कागजात संकलन गर्छौ । कम्पनिमा आवद्ध व्यावसायीसँग छलफल गरिसकेका छौ,’ उनले भने, ‘आइतबारसम्म कागजात र तालाचाँबी संकलन गर्ने र सोमबारदेखि बुझाउन थाल्ने हो ।’ यो समाचार आजको नागरिक दैनिकले प्रकाशन गरेको छ ।