भोजपुर, १८ असार । भोजपुर अरुण गाउँपालिका वडा नम्बर २ चम्पेमा जन्मिएका लाटा सार्कीले ९३ वर्षको उमेर नागरिकता पाउँन सफल भएका छन् । १९८४ सालमा भोजपुरको साविक चम्पे गाविसमा जन्मिएका सार्कीले अहिलेसम्म नागरिकता पाउँन सकेका थिएनन् । सानै देखि बाबु आमाले वेवारिसे अवस्थामा छोडेर हिनेका सार्कीले ९३ वर्षको उमेरसम्म नागरिकता पाउँन नसक्दा बृद्ध भत्तासमेत लिन पाएका थिएनन् ।
भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुइँटेलले असार १७ गते उनलाई नेपाली नागरिकताको प्रमाण पत्र हस्तान्तरण गरेका हुन् । जिल्ला प्रशासन कार्यालय भोजपुरबाट २०७७ असार १७ गते जारी नेपाली नागरिकताको प्रमाणपत्रमा उनको लाटा सार्कीको जन्म मिति १९८४ माघ १० गते उल्लेख छ ।
सहायक प्रमुख जिल्ला अधिकारी लुईटेलका अनुसार उनको नागरिकता नम्बर ०९–०१–७७–०००३० हो । आफूहरुले अरुण गाउँपालिककाको केन्द्र प्याउँलीमा पुगेर सार्कीलाई नागरिकता दिएको उनले बताए । सरकार सिमान्तकृतहरुको संरक्षक र आवाजविहीनहरुको आवाज भएको भन्दै लुईटेलले बृद्ध भत्ता पाउँने आधार बनेकाले उनीमाथि न्याय भएको तर्क गरे ।
अरुण गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर कार्की र चम्पेका वडाध्यक्षको भुपेन्द्र राना संघीय सांसद सुदन किरातीलगायतको पहलमा उनले नागरिकता प्राप्त गर्न सफल भएका हुन् ।
आवाज नसुन्ने बोली नबुझिने र इशासाको भरमा उनले आफ्नो कुरा राख्ने गर्छन् । उनले बोलेको कुरा प्रस्टसँग बुझिँदैन । लाटा सार्की भोजपुरको सिस्नेरी, याङपाङ, चम्पे, प्याउली चरम्वी जरायोटार, च्याग्रे, याकु, तिवारीभञ्ज्याङलगायतका ठाउँमा डुलेर आफ्नो जीवन यापन गरिरहेका छन् ।