काठमाडौं, १९ असार । नयाँ खेलकुद विकास ऐन २०७७ बिहीबारदेखि लागू भएपछि राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीहरु स्वतः पदमुक्त भएका छन् । खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले २०७५ फागुन २६ गते खेलकुद विधेयकलाई राष्ट्रिय सभामा पेश गर्नुभएको थियो । यसपछि यस विषयमा पर्याप्त छलफलपछि गत असार ११ गते राष्ट्रपति भण्डारीले प्रमाणिकरण गर्नुभएको थियो ।
ऐनमा उल्लेख भएअनुसार प्रमाणिकरण भएको एक सातापछि सो कानून लागू हुनेछ । खेलकुदमा नयाँ ऐनको आगमनले राष्ट्रिय खेलकुद परिषदका पदाधिकारीको पद पनि स्वत खारेज भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले आफु कार्यालयमा उपस्थित हुन नसकेको बताउनुभयो ।
नयाँ कानूनले उहाँको पद पनि स्वत समाप्त भएको छ । अब यसका लागि विकल्प यही हुनेछ कि राष्ट्रिय खेलकुद परिषद्मा छिटै सदस्यसचिव र पदाधिकारीको नियुक्त हुनु हो । जसमा सिलवाल स्वयम पनि नयाँ नियुक्तिमा आउन सक्नुहुन्छ । या खेलकुद मन्त्रालयले उहाँको सट्टामा नयाँ सदस्यसचिव पनि ल्याउन सक्ने खबर आजको नेपाल समाचार पत्रले प्रकाशन गरेको छ ।