राजविराज, १९ असार । वर्षासँगै परेको चट्याङले सप्तरीको डाकनेश्वरी नगरपालिकामा बिहीबार एक वृद्धको मृत्यु भएको छ भने एक बालिका घाइते भएकी छन्।
खेतमा हलो जोत्न गएका डाकनेश्वरी नगरपालिका–८ गम्हरिया प्रवाहाका ७० वर्षीय धर्मी साहको घटनास्थलमै मृत्यु भएको प्रदेश २ प्रहरी कार्यालय जनकपुरधाम प्रहरी प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए। मिश्रका अनुसार खेतमा हलो जोत्न गएका साहको चट्याङ लागेर मृत्यु भएको हो।
खेत जोतिरहेका बेला पानीसँगै बिजुली चम्किन थालेपछि साह रुख मुनी ओत लागेका थिए। रुखमा ओत लागेर बसेका साहको चट्याङले लागेर मृत्यु भएको उनका छोरा तेजनारायण साहले बताए। हजुरबुवासँगै खेत गएकी १६ वर्षीया कञ्चनाकुमारी साहलाई समेत करेण्टको झट्का लागेको छ। चट्याङले ढलेका हजुरबुवालाई उठाउन खोज्दा उनलाई समेत करेण्टको झटका लागेको कञ्चनाले बताइन्। कञ्चनाको स्थानिय मेडिकलमा उपचार भइरहेको छ।
घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय, कल्याणपुर सप्तरीको टोलीले पोष्टमार्टमका लागि शवलाई राजविराज ल्याउने तयारी गरिरहेको खबर आजको अन्नपुर्ण पोस्टले छापेको छ ।