Logo

संसद् अधिवेशन अप्रत्याशित अन्त्य, महत्वपूर्ण विधेयक थाँती



काठमाडौं, असार १९ । महत्वपूर्ण विधेयक थाँती राख्दै संघीय संसद्को बर्खे अधिवेशन अन्त्य गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा बिहीबार साँझ ५ बजेदेखि संसद् अधिवेशन अन्त्य गरेकी हुन्।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट संसद् अधिवेशन आह्वान र अन्त्य हुने संवैधानिक व्यवस्था छ। अधिवेशन अन्त्यअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति भण्डारीसँग भेट गरेका थिए।

अधिवेशन अन्त्य हुँदा नागरिकता ऐन संशोधन, संघीय निजामती सेवा, विशेष सेवा गठनसहित दर्जनभन्दा बढी विधेयक पारित हुने बेला रोकिएका छन्। लामो समयदेखि रोकिएका नागरिकता र निजामती विधेयक हालै मात्र राज्यव्यवस्था समितिले पारित गरेर प्रतिनिधिसभामा पठाएको थियो। यी विधेयक प्रतिनिधिसभाबाट पारित हुने अन्तिम चरणमा थिए।

नागरिकता विधेयक झन्डै दुई वर्षदेखि संसद्मा रोकिँदा अंगीकृत नागरिकता लिएका व्यक्तिका सन्तान र वैवाहिक अंगीकृत नागरिकता लिन चाहनेहरू मर्कामा परिरहेको सरकारले बताउँदै आएको छ। संसद् सचिवालयले सभामा १९ वटा विधेयक विचाराधीन रहेको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्