काठमाडौं, १९ असार । बैंकिङ कसुर मुद्दाका फरार २ जना प्रतिवादी बिहीबार पक्राउ परेका छन् । बैंकिङ कसुर मुद्दामा फरार रहेका २ जना प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका बस्ने राम ज्यापु र काठमाडौं बुढानिलकण्ठ नगरपालिका पैयुँटार बस्ने प्रकाश बुढाथोकी रहेका छन् ।
ज्यापुलाई भक्तपुर ठिमीबाट मंगलबार र बुढाथोकीलाई काठमाडौं कपनबाट बिहीबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकामध्ये ज्यापुलाई उच्च अदालत पाटनको २०७६ भदौ २ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ११ लाख ५० हजार रुपैयाँ जरिवाना र ३ दिन कैद तथा बुढाथोकीलाई उच्च अदालत पाटनको २०७६ माघ २४ गतेको फैसलाले १० लाख ५० हजार रुपैयाँ जरिवाना र ७ दिन कैद सजाय ठहर भई फरार रहेका थिए ।
उनीहरुले आफ्नो खातामा रकम मौज्जात नभएको भन्ने जानी जानी रकम भुक्तानको लागि चेक काटी दिएको र उक्त चेकहरु बैंकबाट भुक्तान हुन नसकी चेक बाउन्स भएको अनुसन्धनाबाट खुल्न आएको थियो ।पक्राउ दुवै जनालाई कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय सुन्धारामा पठाइएको उक्त व्यूरोले जनाएको छ ।