काठमाडौ, १९ असार । कपिलवस्तु अदालतका दोभाषे विश्वनाथ कुर्मी (चौधरी)ले २ लाख भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको छ । जिल्ला अदालत, कपिलवस्तुमा दोभाषेको रुपमा करारमा कार्यरत कुर्मी (चौधरी) ले सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई २ लाख नगदसहित नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो ।
अनुसन्धानको सिलसिलामा कपिलवस्तु जिल्ला अदालतको शाखा अधिकृत पदबाट अवकास प्राप्त भई सोही अदालतमा दोभाषेको रुपमा सूचिकृत कुर्मी (चौधरी) ले ठगी मुद्दाको कपिलवस्तु जिल्ला अदालतबाट हुने थुनछेक आदेशको क्रममा धरौटीमा छाड्ने प्रयोजनका लागि सहजीकरण गरिदिने भनी २ लाख घुस लिएको पुष्टि भएकोले उनलाई कानुन बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरेको अख्तियारका प्रवक्ता प्रदिपकुमार कोइरालाले जनाएका छन् ।