काठमाडौं, २० असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज विहान ११ बजे बस्ने स्थायी कमिटी बैठक केही दिनको लागि स्थगित् गर्ने शीर्ष नेताहरुको तयारी छ । पार्टीभित्र विवाद उत्कर्षमा पुगेको भन्दै पार्टी एकतालाई जोगाउनको लागि पनि यो बीचमा सहमतिको प्रयास खोजिने नेताहरुले बताउँदै आएका छन् । असार १० गतेबाट सुरु भएको स्थायी कमिटीको पाँचौं बैठकमा प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग भएपछि नेकपामा विवाद चुलिएको हो ।
ओलीले आफूले दुवै पदबाट राजीनामा नदिने अडान कसेका छन्। तर, अर्का अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधव कुमार नेपाल समूहले तत्काल दुवै पदबाट राजीनामा दिन दबाब दिँदै आएका छन् । बरिष्ठ नेता झलनाथ खनालले दिएको जानकारीअनुसार स्थायी कमिटीको बैठक एक दुई दिन स्थगित् हुनेछ । र, त्यही बीचमा अध्यक्षद्धय ओली र दाहालबीच सहमतिको प्रयास हुनेछ । आजको स्थायी कमिटी बैठक बस्नुअघिपनि दुई अध्यक्षबीच बालुवाटारमा छलफल हुँदैछ ।
यसअघि हिजोपनि दुई अध्यक्षबीच करिब चार घण्टा भेटवार्ता भएको थियो । हिजोको भेटमा पनि कुनै ठोस सहमति नभएको बैठकमा सहभागी नेताहरु जनार्दन शर्मा र विष्णु पौडेलले स्पष्ट पारेका छन् । यद्धपी उनीहरुले अध्यक्षद्धयबीचको सम्वाद सकारात्मक रहेकोले छिट्टै निकास निस्किने विश्वास व्यक्त गरेका छन् । File Photo