Logo

ओली भेट्न निस्किएका दाहाल कोटेश्वर छिरे



काठमाडौं, २० असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटीको पाँचौ बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग भएपछि पार्टीभित्र विवाद चुलिएको छ । असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठकको पहिलो दिनमै शीर्ष नेताहरुले ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग जोडदारसँग उठाएपछि विवाद उत्कर्षमा पुगेको हो ।

तर, ओलीले आफूले दुवै पदबाट राजीनामा नदिने अडान लिएका छन् । यही विवादका कारण पार्टी फुटको संघारमा पुगेको भन्दै नेकपाका नेता तथा कार्यकर्ताहरु पार्टी एकता जोगाउनको लागि सक्रिय भएका छन् । ओलीसँग सहमति खोज्नकै लागि बिहीबारको स्थायी कमिटी बैठक आज शनिबार विहान ११ बजे बस्नेगरि स्थगित् गरिएको छ ।

स्थायी कमिटीको बैठक आज विहान ११ बजे बस्ने तय भएको छ । तर, त्यो भन्दा अघि अध्यक्षद्धय ओली र पुष्पकमल दाहालबीच सहमतिको लागि निर्णायक वार्ता हुँदैछ । ओलीसँगको भेटवार्ताको लागि दाहाल आफ्नो निवास खुमलटारबाट निस्किएका छन् । तर, उनी सिधै बालुवाटार नगई बरिष्ठ नेता माधव कुमार नेपालको निवास कोटेश्वर पुगेका छन् । दाहालसँगै प्रवक्ता नारायणकाजी श्रेष्ठपनि छन् ।

नेता नेपालसँगको छलफलपछि मात्रै दाहाल बालुवाटार पुग्ने बताईएको छ । ओली र दाहालबीच हिजोपनि बालुवाटारमा करिब चार घण्टा भेटवार्ता भएको थियो । हिजोको दुई अध्यक्षबीचको भेटवार्तामा विष्णु पौडेल र जनार्दन शर्मापनि सहभागी थिए । ओलीले आफूले दुवै पदबाट राजीनामा नदिने अडान कसेका छन् । तर, दाहालले मार्गप्रशस्त गर्न अनुरोध गर्दै आएका छन् । File photo



प्रतिक्रिया दिनुहोस्