Logo

पोखरामा घरमै बसेकालाई पनि कोरोना



पोखरा, २१ असार । विदेशबाट आएकाको सम्पर्क हुँदा वा अन्य कारणले कोरोना भाइरस संक्रमण देखिएकोमा पोखरामा भने घरमै बसिरहेका एक व्यक्तिमा पनि उक्त रोगको संक्रमण देखिएको छ । पोखरा १७ का ५३ वर्षीय पुरुषमा शनिबार कोरोना पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

असारको १७ गते ती पुरुषको स्वाब संकलन गरिएको थियो । ‘स्वास्थ्यमा केही समस्या भएपछि उहाँ आफैं अस्पताल पुगेर स्वाब दिनुभएको रहेछ’, पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख हरिलाल आचार्यले अन्नपूर्णसँग भने, ‘आज रिपोर्ट आउँदा पोजिटिभ देखिएछ ।’ संक्रमित ती पुरुषलाई अस्पताल पुर्‍याउने तयारी भइरहेको जानकारी पनि आचार्यले दिए । सँगै उनको कन्ट्याक्ट ट्रेसिङ पनि हुने भएको छ ।

पोखरामा शनिबार ती ५३ वर्षीयबाहेक ३ जना पुरुषलाई समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वडा नम्बर ८, १५ र २९ का ती ३ जना पुरुषचाहिँ विदेशबाट आएर पोखरा महानगरपालिकाले व्यवस्थापन गरेको क्वारेन्टाइनमा बसेका हुन् । गण्डकी प्रदेशमा शनिबार मध्याह्नसम्म कोरोना संक्रमित १ हजार ८८ जना भएका छन् ।

संक्रमितमध्ये गण्डकीमा अहिलेसम्म ३ जनाले ज्यान गुमाएका छन् । २ सय ९६ जनाचाहिँ निको भएर घर फर्किएका समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्