Logo

फिल्म नगरीमा ‘स्टाटस आतंक’



काठमाडौं, २१ असार । कोरोना भाइरसका कारण चार महिनादेखि मनोरञ्जन उद्योग ठप्प छ। तर फुर्सदको यो समयमा सिर्जनशील काम गर्नुको सट्टा कलाकार, निर्माता तथा निर्देशक भने सामाजिक सञ्जालमा ‘स्टाटस आतंक’ मच्चाइरहेका छन्। यो प्रवृत्ति अहिले व्यक्तिगत गालीगलौज हुँदै कानुनी कारबाहीमा जाने अवस्थासम्म पुगेको छ। सामाजिक सञ्जालमा निम्न स्तरका टिप्पणी छताछुल्ल भइरहेका छन्। कसैलाई बोल्दा चिप्लिएको आफ्नो जिब्रो सच्याउँदैमा फुर्सद छैन भने कसैलाई स्पष्टीकरण दिँदैमा।

सामाजिक सञ्जालमा केही दिन यतादेखि चलेको अभिनेता भुवन केसी र अभिनेत्री साम्राज्ञी आरएल शाहको जुहारीले अर्कै मोड लिएको छ। साम्राज्ञीले इन्स्टाग्राममा एक भिडियो सेयर गर्दै फिल्मको सुटिङ सेटमा तीन ब्यानरका व्यक्तिले नराम्रो व्यवहार गरेको उल्लेख गरेकी थिइन्। उनले आफूप्रति लक्षित गरेर बयान दिएको भन्दै भुवनले फेसबुकमा स्टाटस लेखेर ‘जुन थालमा खाने त्यही थालमा दुलो पार्ने’ भन्दै जवाफ फर्काएपछि साम्राज्ञी अझ खुलेर आइन्।

यसपछि अभिनेता भुवनले चलचित्र कलाकार संघमा सत्यतथ्य छानबिनको माग गर्दै निवेदन नै दर्ता गराएका छन्। अहिले निवेदन संघको अनुशासन समितिमा पुगेको छ। उनको निवेदनमा उल्लेख छ, ‘म विगत चार दशकदेखि अभिनय र निर्माणको काममा नियमित छु। यसबीचमा धेरै चलचित्रकर्मीसँग मैले काम गरेँ। साम्राज्ञीलाई पनि मैले चलचित्रको मुख्य भूमिकामा काम गराएको छु। आजभन्दा पाँच ६ वर्ष अगाडि निर्माण गरेको चलचित्र ‘ड्रिम्स’मा मैले कुनै किसिमको दुव्र्यवहार गरेको छैन। यो कुरा त्यति बेला काम गर्ने चलचित्रकर्मीलाई सोध्दा पनि थाहा हुन्छ।’ अनावश्यक कुरा सामाजिक सञ्जालमा राखेर आफ्नो चरित्र हत्या गर्ने दुस्साहस भएको उनको भनाइ छ। भुवनले संघमा निवेदन दिनुभन्दा अगाडि फेसबुकमा साम्राज्ञीलाई सम्बोधन गर्दै पत्र लेखेका छन्।

भुवनले आफ्नो मान–प्रतिष्ठामा आघात पुग्ने गरी पुनः सामाजिक सञ्जालमा आए प्रचलित साइबर कानुन र मानहानिसम्बन्धी कानुन प्रयोग गरी आफूलाई पुग्न गएको मानसम्मानको हानिनोक्सानीउपर यथोचित क्षतिपूर्ति गराउने पनि उल्लेख गरेका छन्।

यसैबीच साम्राज्ञीले पनि इन्स्टामा अर्को भिडियो सेयर गर्दै भविष्यमा यस्ता व्यवहार भए के गर्ने भनेर चाँडै कानुनी परामर्श लिन लागेको बताएकी छन्। ‘आशा गर्छु, भविष्यमा यस्ता कुरा नहून्। यस्ता कुरा भयो भने अब म कानुनी बाटो रोज्छु। चाँडै म यो विषयमा कानुनी सल्लाह पनि लिने सोचमा छु। म अरूलाई पनि अन्याय सहेर नबस्न सल्लाह दिन्छु’, उनले भनेकी छन्। यो समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्