Logo

सलहले अर्घाखाँचीमा मकैबाली नष्ट



सन्धिखर्क, २१ असार । अर्घाखाँचीमा पाँच सय हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाएको मकै बाली सलह किराले नष्ट गरेको छ । छ दिनदेखि सलहले खेतबारी नछाडेपछि स्थानीय हैरान भएका छन् ।

केहिदिन अघि थाल ठटाउँदै आगो बालेर सलह धपाउन लागि परे पनि सलह नभागेपछि कृषक चिन्तित छन् । जिल्लाका केही भागमा सलह नियन्त्रणमा आए पनि शितगंगा नगरपालिकामा सलह नियन्त्रणमा आउन सकेको छैन। शितगंगा नगरपालिका वडा नम्बर ७ को जलुके, जुवाकोट, लगायतका क्षेत्रमा लगाएको मकै पूर्ण रुपमा नष्ट गरेको वडा अध्यक्ष मोहन पन्थीले जानकारी दिए ।

सलहले खेती खाएपछि वडाबासीहरु अत्यन्तै चिन्तित भएको उनले जानकारी दिए । सितगंगा १० सिद्धाराको दुम्सी लगायतका क्षेत्रमा पनि सलहले मकैबाली पूर्ण रुपमा नष्ट गरेको वडा अध्यक्ष हिम्मत पोख्रेलले बताए । एक रोपनी क्षेत्रफलमा सामान्य पनि २ क्विनटल मकै उत्पादन हुन्छ । जिल्लाका सबै क्षेत्रमा गरी १० हजार रोपनी भन्दा बढी क्षेत्रफलमा लगाएको मकै पूर्ण रुपमा र केही भागमा आंशिक क्षति पुगेको छ ।

सन्धिखर्क नगरपालिका, शितगंगा नगरपालिका, भूमिकास्थान नगरपालिका, छत्रदेव गाउँपालिका, मालारानी गाउँपालिका र पाणिनि गाउँपालिका सबैतिर सलह देखिएको यसले धेरै क्षेत्रमा क्षती पुर्‍याएको कृषी ज्ञान केन्द्र अर्घाखाँचीका कृषि प्राविधिक निमबहादुर आचार्यले जानकारी दिए । मकै बाली लगायतका अन्य बालीमा क्षती पुगेको र तथ्याङ्क संकलन गर्ने कार्य भैरहेको जानकारी उनले दिएको खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्