सुर्खेत, असार २१ । कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमणपछि निको भई डिस्चार्ज हुनेको संख्या एक हजार २ सय नाघेको छ।
सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार पछिल्लो चौबिस घण्टामा विभिन्न आइसोलेशनबाट २३ जना डिस्चार्ज भएसँगै कोरोना निको हुने संख्या १२ सय १ पुगेको हो।
पछिल्लो चौबिस घण्टामा कोरोना जितेर घर जानेहरुमा दैलेको आठबीस आइसोलेशनबाट २० र प्रदेश अस्पताल सुर्खेतबाट तीनजना रहेका छन्।
सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य महाशाखाद्वारा नियमित मिडिया ब्रिफिङमा पछिल्लो चौबिस घण्टामा छ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ।
महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीले दैलेख जिल्ला अस्पतालस्थित प्रयोगशाला र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँमा गरिएको परीक्षणमा जानकारी दिए।
थपिएका संक्रमितमध्ये सल्यानको दार्मा गाउँपालिकाका पाँच र दैलेखको डुङ्गेश्वर गाउँपालिकाका एकजना रहेका छन्।कर्णालीमा कूल संक्रमित संख्या एक हजार ४ सय ८९ पुगेको छ भने ६ जनाको मृत्यु भइसकेको छ।त्यस्तै, २ सय ८२ जनामात्र आइसोलेशनमा रहेका छन्।रासस