बागलुङ, असार २१ । हवाईजहाज चढेर स्वदेश फर्किएका नेपालीलाई सिधै घर पठाउने गरिएको छ। भारतलगायत देशबाट आउने नागरिकलाई भने क्वारेन्टाइनमा राख्ने गरेको पाइएको छ।
अमेरिका, युरोप, जापानबाट आएकालाई बागलुङ बजारस्थित क्वारेन्टाइनमा नराखेर स्थानीय तह र प्रशासनले सिधै घर जान दिएका हुन्। त्यति मात्रै होइन, उनीहरू खुलेआम मोटरसाइकल चढेर बजारसमेत घुमिरहेको पाइएको छ।
जिल्लामा कोरोना संक्रमण जोखिमलाई ध्यानमा राख्दै रोजगारी गुमाएर आएकालाई सरकारी क्वारेन्टाइनमा निःशुल्क तथा होटल क्वारेन्टाइनमा सःशुल्क बस्ने व्यवस्था गरिएको छ। होटल क्वारेन्टाइनमा बस्नेले दैनिक १५ सय रुपैयाँभन्दा बढी तिरिरहेका छन्। अहिले ५० भन्दा बढी होम क्वारेन्टाइनमा छन्।
केही दिनअघि मात्र बागलुङ नगरपालिकामा अमेरिका र जापानबाट आएकाहरू सिधै घरमा आएर होम क्वारेन्टाइनमा नबसेका कारण छिमेकी त्रसित भएका छन्। तेस्रो देशबाट जिल्ला भित्रिनेको यकिन संख्या प्रशासनसँग नभए पनि बढ्दो क्रममा रहेको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।