काठमाडौं, २१ असार । कर्मचारी समायोजन हुँदा संघमा समायोजन भएका शाखा अधिकृत भीमबहादुर शाही संघमा फिर्ता हुनुपर्नेमा गोकर्णेश्वर नगरपालिकामा अड्डा जमाएर बसेको पाइएको छ । कर्मचारी समायोजन हुँदा संघ रोजेका शाहीले नगरपालिकामा जनप्रतिनिधि र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उच्च अधिकारीसँगको साँठगाँठमा वर्षदेखि संघमा फिर्ता नभइ गोकर्णेश्वरमा नै हालीमुहाली गरिरहेका छन् ।
महालेखाका अधिकारीहरुको अनुसार शाहीलाई मेयर सन्तोष चालिसेको आर्शिवादमा नै खरिद समितिको सदस्य सचिव समेत बनाईएको छ । उनले नगरपालिकाले गर्ने हरेक खरिदमा ठेकेदारसँग मोलमोलाइ गर्दै आएका छन् । नगरपालिकामा कार्यरत करारको इन्जिनियरसँग प्रत्येक वर्ष करार सम्झौता नवीकरण गर्दा उनले मोटो रकम असुल्ने गरेको आरोप लाग्दै आएका छन् । करारका इन्जिनियर ओभरसियरमार्फत नगरपालिकाले घरको नक्सा पासदेखि योजना छनोटमासमेत जथाभावी गर्र्दै आएको छ ।
शाहीलाई हरेक आर्थिक गतिविधिमा मेयर चालिसेले अघि सार्ने गरेका छन् । उपभोक्ता समितिमार्फत हुने ठेक्का र डिपिआरमा लागत स्टिमेट दोब्बर बनाएर कमिसन खाने गरेको स्थानीय जनप्रतिनिधहरुकै गुनासो छ । संघमा समायोजन भएका कर्मचारी लामो समयसम्म स्थानीय तहमा नै बस्नुले आर्थिक लाभ र चलखेललाई सतहमा ल्यादिएको छ ।
मन्त्रालयका उच्च अधिकारीहरुले पनि स्वार्थ मिल्ने भएकाले स्थानीय तहमा रहेको संघका कर्मचारीलाई फिर्ता ल्याउँन चासो दिएको छैन । स्थानीय तहमा बसेर अकुत सम्पत्ति आर्जन गर्ने शाहीजस्ता कर्मचारीलाई अख्तियारले पनि छुन सकेको छैन । महालेखाका अडिट कार्यमा संलग्न अधिकारीहरुका अनुसार करारका इन्जिनियरले हरेको कुरामा भाग खोज्ने गरेको र आर्थिक चलखेलमा शाहीको भूमिका रहने गरेको करारका प्राविधिकहरुको गुनासो छ ।
शाही र उनको आफ्न्तको नाममा भएको सम्पत्तिको छानबिन गर्नुपर्ने स्थानीयहरुले माग राख्दै आएका छन् । पछिल्लो समय उनको गतिविधिलाई अख्तियारले पनि निगरानीमा राख्न थालेको छ । स्थानीय भत्तादेखि लिएर हरेक मिटिङ भत्ता बुझेर राज्य कोषको दोहन गरिरहेको छन् ।