Logo

मेलम्ची खानेपानीको सुरुङमा परीक्षणका लागि पानी हालियो



मेलम्ची, २२ असार । मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा परीक्षणका लागि पानी हालिएको छ । आइतबार बिहान मुख्य सुरुङमा पानी हालिएको आयोजनाले जनाएको छ ।

काठमाडौँतर्फ पानी जाने सुरुङ बन्द गरेर आयोजनाको पहिलो अडिट मार्गबाट पानी परीक्षण गरिएको हो । हेलम्बु गाउँपालिका–१ अम्बाथानमा रहेको मुहान क्षेत्रबाट केही तल रहेको पहिलो अडिटमार्गको सुरुङसम्म पानी हालेर परीक्षण गरिएका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । मेलम्चीको मुख्य सुरुङमा पानी हालेर परीक्षण गरिएको आयोजनाका कार्यकारी निर्देशक रितेशप्रसाद खत्रीको भनाइ छ ।

यसैबीच, मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी पथान्तरणसँगै राष्ट्रिय गौरवको यो आयोजना नयाँ चरणमा प्रवेश गरेको खानेपानी मन्त्रालयले जनाएको छ । यसबारे जानकारी दिन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानीको उद्घाटन छिटै गरिने जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा मन्त्री मगरले मेलम्ची आयोजना सम्पन्न हुनु सरकारको महत्त्वपूर्ण उपलब्धी भएको बताउनुभयो । दन्त्यकथाजस्तै बनेको मेलम्ची आयोजनाको निर्माण सम्पन्न भएसँगै थुप्रै प्रश्नहरू अन्त्य गरिदिएको बताउनुभयो । प्राविधिक, सामाजिक चुनौतीहरू तथा निर्माणको जिम्मा लिएका कम्पनीहरूले ठेक्का तोड्ने प्रवृत्तिसँग समेत सङ्घर्ष गर्दै आयोजना सम्पन्न हुनु ऐतिहासिक उपलब्धी भएको खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्