काठमाडौं,असार २२ । काठमाडौं उपत्यकाको बढ्दो जनसंख्यालाई भरपर्दो खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकारले लामो समयदेखि विभिन्न प्रयास गर्दै आएकामा मेलम्ची प्रयास २८ वर्षपछि पूरा हुने देखिएको हो ।
सरकारले २०२९ देखि नै खानेपानी आपूर्तिका लागि सम्भाव्य स्रोतको पहिचान गर्न अध्ययन थालेकामा २०४१ मा भएको अध्ययनले उपत्यकामा खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि मेलम्चीलगायत विभिन्न २२ वटा विकल्प पहिचान गरेको थियो ।
त्यसपछि २०४९ को अध्ययनले आर्थिक र प्राविधिक रूपमा उत्तम विकल्पका रूपमा मेलम्ची, याङ्ग्री र लार्केबाट दैनिक कुल ५१ करोड लिटर (प्रत्येकबाट १७ करोड लिटर) पानी काठमाडौं उपत्यकामा आपूर्ति गर्न उपयुक्त हुने निष्कर्ष निकालेकोे थियो ।
सोहीअनुसार सरकारले चरणबद्ध रूपमा मेलम्ची, याङ्ग्री र लार्केको पानी काठमाडौंमा ल्याउने योजना कार्यान्वयनका लागि २०५५ सालमा मेलम्ची खानेपानी विकास समिति गठन गरेको थियो । तत्पश्चात् समितिले प्रथम चरणमा मेलम्चीको पानी काठमाडौं उपत्यकामा आपूर्ति गर्न अथक प्रयास गरिरहेको छ ।
अहिलेको अन्तरिम व्यवस्थाअन्तर्गत पूर्ण रूपमा पानी प्रवाह भएपछि दैनिक १७ करोड लिटर पानी काठमाडौंमा उपलब्ध हुने आजको राजधानी दैनिकमा खवर छ ।