Logo

ओली-प्रचण्डबीच वार कि पारको भेटवार्ता हुने



काठमाडौं, २२ असार । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज निर्णायक वार्ता हुँदैछ । पार्टीभित्रको विवाद मिलाउन दुवै नेताले आज अन्तिम प्रयास गर्ने बुझिएको छ । कुरा नमिले दुवै पक्ष आ आफ्नो ढंगले बढ्ने तयारी समेत भइसकेको छ ।

आज स्थायी कमिटि बैठक बस्नुअघि ओली र प्रचण्ड सँगै बस्नेछन् । उनीहरुले निकटस्थको पहलमा गर्ने वार्तामा आ आफ्नो अडानमा लचिलो हुने हुन् होइनन् यसले नेकपाको भविष्य पनि तय गर्नेछन् । प्रचण्ड समुहले ओलीको राजीनामा मागेको छ । ओली कुनै हालतमा राजीनामा नदिने पक्षमा छन् । यसले टकराव बढाएको छ ।

यसैगरी, दुवै पक्ष सम्भावित फुटपछिको परिस्थितिको तयारीमा समेत जुटेका छन् । आफ्नो पक्षका सांसद देखि स्थायी र केन्द्रीय कमिटिका सदस्यलाई काठमाडौं नछाड्न भनिएको छ यसले सम्भावित दुर्घटनाको संकेत समेत गरेको छ ।

नेकपाभित्र सहमति बनाउने प्रयासमा एकाथरी सक्रिय छन् । अर्काथरी सांसदको अंकगणित मिलाउन सक्रिय भएका छन् ।

नेकपा वार कि पारमा जाने भएकाले अब ओली र प्रचण्डमा कस्ले मार्ला बाजी ? यसमा सबैको चासो बढेको छ । हालको राजनीतिक दलसम्बन्धी ऐनले नेकपालाई फुट्न दिदैन । पार्टी एकता भएको पाँच वर्षसम्म फुटाउन नमिल्ने व्यवस्था छ । यसैले नेकपा फुटाउन सक्ने ओली मात्र छन् । उनले अध्यादेश ल्याएर पार्टी फुटाउन सहज बनाउन सक्छन् । तर, प्रचण्डको हातमा अध्यादेश ल्याउनसक्ने अवस्था छैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot