काठमाडौं, असार २२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को देखिएको आन्तरिक विवाद मिलाउन पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबार घनीभूत छलफल भएको छ । पार्टी एकता कायम गरी नयाँ आधार खोजेर अगाडि बढ्न दुई जना अध्यक्षको बीचमा छलफल भएको हो ।
नेकपामा विकसित घटनाक्रमबारे दुई जना अध्यक्षबीच खुलस्त रूपमा कुराकानी भयो, पार्टी फुट्न नदिन दुवैले प्रयास गर्ने र त्यसबारे थप छलफल सोमबार गर्ने भन्दै बैठक सकिएको छ, बैठकमा सहभागी स्थायी कमिटी सदस्य जनार्दन शर्माले जानकारी दिए ।
उनका अनुुसार अध्यक्षद्वयको भेटवार्ता सकारात्मक भएको छ । दुवै अध्यक्षको सहमतिमा सोमबारका लागि पनि बैठक राखिएको छ भन्दै उनले थपे, ‘‘सोमबार स्थायी कमिटीको बैठक बस्नुअघि दुवै अध्यक्षको बीचमा पुनः छलफल हुन्छ ।’’
विभिन्न सातवटा कार्यसूची तय गरी त्यसैमा छलफल गर्नका लागि असार १० गतेदेखि नेकपा स्थायी कमिटीको बैठक सुरु भएको थियो ।
नक्सा र सीमा विवादको विषयमा दुई दिनसम्म बैठकमा छलफल भयो । छलफल चलिरहेकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीको आफूूलाई भारतको इशारामा हटाउन लागेको अभिव्यक्ति र निर्वाचन आयोगमा नेकपा ९एमाले० पार्टी दर्ता गराउन परेको निवेदनको विषयले प्रवेश पाएसँगै बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन ।
बैठककै क्रममा मन्त्रिपरिषद्ले संसद्को चालू अधिवेशन अन्त्य गर्ने निर्णय गरेपछि स्थायी कमिटीको बैठक नै प्रभावित भएको आजको गोरखापत्र दैनिकमा खवर छ ।