Logo

कक्षा १ को पुस्तक छपाइमा आर्थिक चलखेल



काठमाडौं, २२ असार । पाठ्यक्रम विकास केन्द्रले कक्षा १ को पुस्तक छपाइमा आर्थिक चलखेल शुरु गरेको छ । पाठ्यपुस्तक छपाइ गर्न स्वीकृति पाएका करिब १८ पुस्तक प्रकाशक तथा बिक्रेतालाई केही रकम बुझाए मात्र पुस्तक छपाइ र बिक्री गर्न दिने बताउँदै आएको छ । एक पुस्तक प्रकाशक र बिक्रेताका अनुसार केन्द्रले प्रति प्रकाशक १ लाख ५० हजार रुपियाँ माग गरेको बुझिएको छ ।

‘माघमा सूचना प्रकाशित गरी ३० दिनभित्र पुस्तक छपाइ गरी केन्द्रमा बुझाउन निर्देशनसहितको चिठी दिएको थियो । तर चिठी उपलब्ध गराएपछि छपाइ स्वीकृत नदिएर प्रकाशकलाई आर्थिक दबाब दिएको छ । माघमा सूचना जारी गरेपछि पुस्तक प्रकाशकले परिवर्तन भएको प्रति पुस्तक १० हजार रुपियाँ राजस्व बुझाइसकेका थिए । राजश्व बुझाएर प्रक्रिया शुरु गर्न खोज्दा अहिलेसम्म पुस्तक छपाइ गर्न निर्देशन दिएको छैन’ –एक प्रकाशकले नेपाल समाचारपत्रसँग भने ।
स्वीकृत पाएर पनि पुस्तक छपाइ गर्न नदिएर चलखेल गरेको आशंकामा करिब डेढ महिनाअघि केन्द्रबाट पाठ्यपुस्तक छपाइसम्बन्धी फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगेको थियो ।

केन्द्रका महानिर्देशक केशव दाहालले आफूहरुले कुनै आर्थिक चलखेल नगरेको र कुनै प्रकाशकसँग रकम माग नगरेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो– ‘यो सबै हावादारी कुरा हुन्, रकम मागेको भए मसँग कुरा गर्न आउनुपर्छ ।’ तर केन्द्रले चैतमा पुस्तक प्रकाशन गरी बिक्री गरिसक्नुपर्ने अवस्थामा हालसम्म छपाइ गर्न नदिन चलखेल भएको आशंका गरिएको खबर आजको समाचारपत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्