भरतपुर, असार २२। भरतपुर महानगरपालिकाले २५ लाख रुपियाँसम्मको कृषि ऋणमा २ प्रतिशत ब्याज सहयोग गर्ने भएको छ । ‘भरतपुर कृषकमैत्री ऋण’ कार्यक्रम लागू गर्दै महानगरले कोभिड–१९ बाट प्रभावित किसानको उत्थानका लागि यो कार्यक्रम लागू गरेको हो ।
महानगर कृषि महाशाखाका प्रशासकीय अधिकृत विनोद लामिछानेले किसानका लागि लक्षित गरी महानगरले ‘भरतपुर कृषकमैत्री ऋण’ कार्यक्रम लागू गरेको जानकारी दिए ।
आगामी वर्षको महानगरको नीति तथा कार्यक्रम र बजेटमा समावेश भएको कार्यक्रम हो, ‘भरतपुर कृषकमैत्री ऋण कार्यक्रम’, उनले भने, “किसानलाई लक्षित गरेर ल्याइएको यो कार्यक्रमले निम्न वर्गका कृषकको उत्थानमा सहयोग पुग्ने विश्वास लिइएको छ । ”
यो कार्यक्रम नयाँ आर्थिक वर्ष साउनबाट लागू हुनेछ । भरतपुर महानगरभित्रका किसानले आफूले लिएका कुनै पनि बैङ्क तथा वित्तीय संस्थाबाट लिएको ऋणमा महानगरले २ प्रतिशत ब्याज बराबरको रकम उपलब्ध गराउने आजको गोरखापत्र दैनिकमा खवर छ ।