Logo

विरोधीलाई फकाउँदै, गलाउँदै र थकाउँदै ओली



काठमाडौं, २२ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै हालतमा सत्ता नछाड्ने अडानसँगै विरोधीलाई थकाउने, गलाउने र फकाउने गर्न थालेका छन् । उनले बरु जस्तोसुकै कठोर कदम चाल्ने तर सत्ता नछाड्ने अडान लिएपछि नेकपाभित्रका विरोधीहरु अलमलिन थालेका छन् ।

नेकपा र देशलाई नै दुर्घटनामा लाने तर सत्ता नछाड्ने ओलीले रणनीति लिएको नेकपाभित्रका ओली विरोधी समुहले निष्कर्ष निकालेका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम ओलीले कठोरभन्दा कठोर कदम चाल्न सक्ने देखेर सुरक्षित अवतरणको प्रयासमा छन् । त्यसैले स्थायी कमिटी बैठक दुई पटक स्थगित भइसकेको छ ।

स्थायी कमिटी बैठकले ओलीलाई हटाउने निर्णय गर्ने निश्चित भएको खण्डमा ओलीले संकटकाल देखि अन्य कठोर विकल्प समेत चाल्ने खबर बाहिर आइसकेको छ । उनले २० असारमा मन्त्रीहरुलाई बालुवाटार डाकेर क्रमशः कडा कदम चाल्दै जाने बताइसकेका छन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर त्यसबारे परामर्श गरेका छन् । सेनापति पूर्णचन्द्र थापालाई समेत बोलाएर पटक पटक भेटेका छन् । राज्यका शक्तिशाली निकायसँग ओलीले आफूले सविधानको धारा नै टेकेर कदम चाल्ने बताएको बुझिएको छ ।

पार्टीले हटाउने निर्णय गरेको खण्डमा पनि ओली छाड्ने पक्षमा छैनन् । बरु अन्य विकल्पतर्फ लाग्ने संकेत देखाएका छन् । ओलीले एकातर्फ कडा कदम चाल्ने डर देखाएका छन् भने अर्कोतर्फ विरोधी समुह फुटाउने प्रयास जारी राखेका छन् ।

उपाध्यक्ष बामदेव गौतमलाई उपप्रधानमन्त्रीसहित रोजेको मन्त्रालयका अलावा उनका मान्छेलाई मन्त्री बनाउने सम्मको प्रस्ताव पुगेको छ । भविष्यमा प्रधानमन्त्री बनाउने आश्वासन पनि दिइएको छ । तर, पटक पटक धोका खाएका गौतम यसपटक सहमतिमा आउन तयार छैनन् । गौतम कहाँ नियमितजसो ओलीनिकटस्थ पुग्न थालेका छन् । तर, ओलीले पटक पटक धोका दिएको भन्दै गौतमलाई निकटस्थले नपत्याउन सुझाव दिएका छन् ।

अध्यक्ष प्रचण्डलाई ओलीले भविष्यमा प्रधानमन्त्री र अध्यक्ष पद दुवै छाडिदिने आश्वासन दिएका छन् । तर, प्रचण्ड पनि मान्न तयार छैनन् । गल्न र थाक्ने खालको नेता होइन भन्दै प्रचण्ड ओलीको सहज अवतरणको प्रयासमा छन् । त्यसका लागि उनका खास मान्छेहरुलाई पार्टी र देशलाई दुर्घटनाबाट जोगाउन ओलीलाई सत्ताबाट हट्न मनाउन भन्दै आएका छन् ।

ओलीले माधवकुमार नेपाललाई अध्यक्ष र सरकार सञ्चालनको संयन्त्रको अध्यक्ष बनाउने सन्देश पठाइसकेका छन् । विगतमा महासचिव विष्णु पौडेलले नेपाललाई भेटी सहमतिको बिन्दु निकाल्न प्रस्ताव गरेका थिए । तर, नेपाल मान्न तयार भएनन् ।

ओली हट्न मानेका छैनन् भने उनलाई हटाउने निर्णय पार्टीबाट गर्न पनि विरोधी समुहले सकिरहेका छैनन् । यसले ओली समय लिदै भित्र भित्र खेल्दै थकाउने, गलाउने र फकाउने शैलीमा प्रस्तुत भएका छन् । त्यसमाथि चिनियाँ राजदुत हाउ यान्छीको दौडधुप चलेको छ । यसलाई नेकपाभित्र दुर्घटना रोक्ने चीनको प्रयासका रुपमा लिइएको छ । विगतमा पनि चीनकै सक्रियतामा ओली सरकार जोगिएको चर्चा चलेको थियो । त्यतिबेला यान्छीले ओली, प्रचण्ड र माधवकुमार नेपाललाई निवासमै भेटेर कुरा मिलाइदिने सफलता हासिल गरेको विषय बाहिर आएको थियो ।



प्रतिक्रिया दिनुहोस्